परीक्षा स्थगन भएकामा चिन्ता

रासस

आइतबार, २४ साउन २०७८, २१ : २८
परीक्षा स्थगन भएकामा चिन्ता

फाइल फोटो

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्काे कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ ।

सो महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भरपर्दाे विकल्प, नयाँ तालिका र विधि नदिएकामा चिन्ता व्यक्त गरिएको छ ।

बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र÷कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ डेस्क राख्ने, पिसीआर परीक्षण, मास्क र स्यानिटाइजरको व्यवस्था र परीक्षा हलमा २५ जना नबढाइ सो परीक्षा सञ्चालन गर्ने निर्देशिकासहित कार्यतालिका सार्वजनिक भएकामा एकाएक स्थगन गरिएको महासङ्घको भनाइ छ ।

बोर्डले कोरोनाको जोखिम बढेको तथा नेपाल सरकारको आग्रहका आधारमा परीक्षा स्थगन गरेको थियो । महासङ्घले परीक्षा स्थगन हुँदा विद्यार्थीको सिकाइमा दीर्घकालीन मनोवैज्ञानिक असर पर्न गएको, परीक्षाको गुणस्तर घटेको र विद्यार्थीमा निराशा पैदा हुने भएकाले अन्योल हटाउने गरी चाँडै नयाँ तालिका र विधि ल्याउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस