गण्डकी । सात तालको बाटिका शहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनास ताल पारीको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पहल थालिएको छ ।
बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास ताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको हो ।
साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा पदमार्ग, बस्ने ठाउँ, वनभोजस्थल आदिको निर्माण भइसकेको बेगनास ताल बराह संरक्षण समितिका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए ।
बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि अघिल्लो वर्ष पुरातत्व विभागका प्राविधिकसमेत आएर यहाँको अध्ययन गरेको उनले जानकारी दिए ।
उनका अनुसार बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमासमेत पु¥याउने लक्ष्य राखिएको छ । डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्ने गरिएको उनले जानकारी दिए ।
मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथिमिति एवं पर्वमा दर्शनार्थी आउने गरेका छन् । बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म बेगनासताल क्षेत्रमा महायज्ञ गरिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिए ।
तत्कालीन महायज्ञ आयोजक मूल समितिका महासचिवसमेत रहेका अधिकारीका अनुसार महायज्ञमा कूल रु एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ । बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २४ साउन २०७८, १४ : ४३
लेखकबाट थप