१० घण्टापछि नियन्त्रणमा आयो बालाजु औधोगिक क्षेत्रको आगलागी

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १२ : ४३
१० घण्टापछि नियन्त्रणमा आयो बालाजु औधोगिक क्षेत्रको आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान २ः ०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि  नियन्त्रणमा आएको हो ।

नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आज बिहान एक्कासी आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको छ ।  अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको नेपाली सेनाले जानकारी दिएको छ । 

आगलागी नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाका ८ दमकल प्रयोग गरिएको सेनाले जनाएको छ । यस्तै २५ ट्याङ्करले निरन्तर पानी ओसारपसार गरेका थिए । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार बालाजुस्थित श्री नम्बर १ बाहिनीका बाहिनी पतिको कमाण्डमा १ सय २८ सेना परिचालित थिए भने सिम्रिक एयरको हेलिकप्टर समेत प्रयोग गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित उक्त नेबिको प्रालिमा आगलागी हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । रु एक अर्ब बराबरको लगानीमा सञ्चालनमा रहेको उक्त प्रालिले भर्खरै नयाँ प्लान्ट जडान गर्ने क्रममा रहेको थियो । बजारमा नयाँ ढङ्गले जान लागेका बेलामा आज बिहान एक्कासी आगलागी भएको हो । 

नेबिको प्रालिका ब्राण्ड मेनेजर अरुण पौडेल अहिलेसम्म आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले के कति क्षति भयो भन्नेबारे यकीन तथ्याङ्क निकाल्न नसकिएको बताएका छन् । घरभित्र आगो लागेकाले पनि नियन्त्रणमा लिन कठिन भएको हो । 

तीन सय भन्दाबढी कामदार रहेको उक्त कम्पनीमा प्रारम्भिक विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि के कति कारणले आगलागी भयो भन्नेबारे अहिलेसम्म थाहा भएको छैन । उक्त कम्पनी दैनिक १६ घण्टा सञ्चालन हुँदै आएको थियो । नेबिको प्रालिले वार्षिक रु एक अर्ब १५ करोडभन्दा बढी रकम बराबरको सामग्री बजारमा बिक्रीका लागि पठाउँदै आएको थियो ।

सन्ताउन्न वर्ष पहिले स्थापना भएको उक्त कम्पनीले विभिन्न नामका बिस्कुट, कुकिजलगायतका सामग्री उत्पादन गर्दै आएको थियो । चार युनिटमार्फत काम गर्दै आएको उक्त कम्पनीले भैरहवामा समेत शाखा विस्तार गरेर काम गर्दै आएको ब्राण्ड मेनेजर पौडेल बताए । 

प्रतिक्रिया दिनुहोस