विवादले परम्परा बिथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा

रासस

शनिबार, २३ साउन २०७८, १२ : ३८
विवादले परम्परा बिथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा

भक्तपुर । भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें देवता घरमा नकीं महिला पुजारीको छनोटमा विवाद भएपछि शुक्रबार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएपछि यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्पन्न भएको छ ।

घण्टाकर्ण चतुदर्शीको साँझ देवगणसहित नकींको पदभार हस्तान्तरण हुने परम्पराअनुसार शुक्रबार नवदुर्गा द्योछेंमा जम्मा भएका देवगण र नवदुर्गा नाचका सरोकारवालाबीच नकीं छनोटमा विवाद हुँदा दुई पक्षबीच झडप भएको हो । 

झडपमा दुवै पक्षका केही सामान्य घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । उनले भने, “विवाद भएपछि प्रहरीले सुरक्षा दिएको हो, दुई पक्षबीच सामान्य झडप भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको हो ।”

नवदुर्गा देवगणको परम्पराअनुसार घण्टाकर्ण चतुदर्शीका दिन देवगण र नकींको पालो फेर्ने प्रचलन छ । त्यसका लागि केही दिनअघि पालोअनुसार देवगण र नकीं छनोट गरिन्छ । यस वर्ष देवगण छनोटमा विवाद नभए पनि नकीं छनोटमा भने विवाद भएको थियो ।

नवदुर्गा देवगणको नकींमा भक्तपुर नगरपालिका–७ का हरिगोविन्द वनमाला र कृष्णराम वनमालाको परिवारले दाबी गरेका थिए । नकींमा दुई परिवारको दाबी परेपछि विभिन्न चरणमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालयले हरिगोविन्दको परिवारलाई नकींको जिम्मेवारी तोकेको थियो । कृष्णरामको परिवारले परम्पराअनुसार आफ्नो परिवारको पालो भएको दाबी गर्दै पालो मिचिएको भन्दै असन्तुष्टि जनाएको थियो । उनले पाटन उच्च अदालतमा आफूलाई अन्याय गरेको र पालो मिचिएको भन्दै रिटसमेत दर्ता गर्नुभएको छ, जुन विचाराधीन छ ।

नकीं छनोटमा विवाद उत्पन्न भएपछि नवदुर्गा द्योछें परिसरमा दर्जनौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीकै सामुन्ने दुई पक्षबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरी झडप साम्य पारेको थियो । 
    
नवदुर्गा गण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सदस्य बालकृष्ण वनमालाले घण्टाकर्णको अन्तिम दिन नकीं छनोट भई पद हस्तान्तरण गर्ने बेलासम्म पनि छनोट हुन नसकेपछि विवाद र झडप भएको बताए । उनले विवादले नवदुर्गा देवगणको परम्परा नै बिथोलिएको जानकारी दिए ।
    
नवदुर्गा देवगणको परम्पराअनुसार घण्टाकर्ण चतुदर्शीको बेलुकी महादेव सिद्ध गर्ने, देवगणको मखुण्डो बनाउन निम्ता दिन जानुका साथै माटाको पूजा गर्नुपर्ने प्रचलन रहेको छ । त्यसैगरी तालक्वस्थित कुमाले टोलमा पुगेर देवगणले नवदुर्गा गणको जात्रा सञ्चालनका लागि आवश्यक भाँडाकुँडा बनाउन आग्रह गर्न जानुपर्ने परम्परा छ । झडपले ती सबै परम्परा बिथोलिएको बालकृष्णले बताए। घण्टाकर्ण चतुदर्शीको रातिदेखि नै देवगणको नाचको प्रशिक्षण शुरु हुने परम्परा रहेकोमा झडप र विवादले यस वर्ष सो परम्परा पनि बिथोलिएको छ ।

प्रतिक्रिया दिनुहोस