देउवा नेतृत्वको सरकारमा सहभागी हुन माधव नेपाललाई दबाब

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १८ : ३३
देउवा नेतृत्वको सरकारमा सहभागी हुन माधव नेपाललाई दबाब

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन माधव नेपाललाई थप दबाब आएको छ । नेकपा एमालेको एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू क्रियाशील रहेका बेला उनी पक्षका केन्द्रीय सदस्यहरुले देउवा नेतृत्वको सरकारमा जानलाई थप दबाब दिएका छन् । 

आज भएको केन्द्रीय कमिटी बैठकमा सहभागी नेताहरूले माधव नेपाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन दबाब दिएका हुन् । केन्द्रीय सदस्यहरुले ओलीलाई अध्यक्ष मानेर एकता नगर्न समेत माधव नेपाललाई दबाब दिएका छन् । त्यसकारण पार्टी एकतामा समस्या पैदा भइरहेको छ । 

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय सदस्यहरू समूह बनाएर अनौपचारिक छलफल गरेका थिए । केन्द्रीय सदस्यहरू स्पष्ट दुई भागमा विभाजित भएका छन् । केही सदस्यहरु देउवाको सरकारमा सहभागी हुन माधव नेपाललाई दबाब दिइरहेका छन् भने केही सदस्यहरु पार्टी एकतामा जोड दिइरहेका छन् । 

केन्द्रीय सदस्य तथा सांसद मेटमणी चौधरीले भने ओलीलाई एमालेको अध्यक्ष मान्न नसकिने बताए । उनले केन्द्रीय सदस्यहरूको बहुमत हिस्सा ओलीबिनाको एमालेको पक्षमा रहेको भन्दै ओली अध्यक्ष हुन्जेल आफूहरू उनको पार्टीमा रहन नसक्ने बताए ।चौधरीले भने, ‘केपी ओली रहुन्जेल पार्टी एकता हुँदैन ।

उनको पार्टीलाई त सर्वोच्च अदालतले अवैधानिक घोषणा गरिसकेको छ । अब उनी बयलगाढा चुनाव चिन्ह लिएर नेकपा ओली पार्टी बनाउछन् । हामी केपी ओलीलाई अध्यक्ष मानेर एमालेमा एकता गर्दैनौं ।’

माधव नेपालले केन्द्रीय सदस्यहरूको राय बुझ्नका लागि बैठक बोलाएका हुन् । स्थायी कमिटीमा एकताको लागि जति दबाब माधव नेपालमाथि छ, केन्द्रीय कमिटीमा नेपाललाई साथ दिनेहरूको संख्या धेरै छ । संघ र प्रदेश सांसद समेत रहेका केन्द्रीय सदस्यहरूको ठूलो हिस्सा शेरबहादुर देउवा नतृत्वको सरकारमा जानुपर्ने पक्षमा छ। 

प्रतिक्रिया दिनुहोस