माधव नेपाललाई देउवा–प्रचण्डको अफरैअफर !

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १६ : २५
माधव नेपाललाई देउवा–प्रचण्डको अफरैअफर !

काठमाडौँ । नेकपा एमालेको एउटा समूह लिएर विद्रोह गरिरहेका वरिष्ठ नेता माधव नेपाल सरकारमा अझै सहभागी हुन सकेका छैनन् । न उनी एमालेमा फर्कन सकेका छन् । हिजोदेखि नै माधव नेपालमा रहेको ढुलमुल प्रवत्ति कायमै छ । न उनी पार्टी फुटाएर प्रधानमन्त्री शेरबहादुर देउवासँग काँध मिलाउन सकेका छन्, न उनी एमालेमा फर्केन सकेका छन् । 

माधव नेपाल एमालेमै फर्कने हुन् कि भन्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न अफर दिएर एमालेलाई टुक्राउन खोजिरहेका छन् । माधव नेपाल समूहलाई देउवा–प्रचण्डले पत्याउन मुस्किल पर्ने अफरहरु दिइरहेका छन् । 

नेकपा एमालेमा रहेर पनि ‘विद्रोह’ गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावपछिको प्रधानमन्त्रीदेखि उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजकलगायतका आधा दर्जन अफर दिइएको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चालगायतको चार दलीय सत्ता गठबन्धनका तर्फबाट अफर गरिएको हो।  नेपाललाई आगामी वर्ष हुने संघीय संसदको चुनावपछिको प्रधानमन्त्री बनाउने बनाउने अफरसमेत देउवा प्रचण्डले दिएका छन् ।

माधव नेपाललाई पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने त्यसपछि प्रधानमन्त्री माधव नेपाललाई बनाउने प्रस्ताव प्रचण्ड देउवाले गरेका छन् । यस्ता अफरका कारण पनि माधव नेपाल एमाले ओली पक्षसँग मिल्न खोजिरहेका छन् । एमाले दोस्रो पुस्ता एमाले एकतामा लागिरहेको समयमा माधव नेपाललाई आएका यस्ता अफरले एमाले एकीकरणमा समस्या भइरहेको छ । 

‘यदि माधवजीले भोलिको राजनीतिक परिदृश्य विश्लेषण गर्नुभएको छ भने गठबन्धनले नै सरकार बनाउने देखिन्छ, त्यसबेलाको प्रधानमन्त्री उहाँलाई बनाउन तयार रहेको समझदारी गर्न तयार छौं,’ नेता नेपाललाई राखिएको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो। झण्डै १७ महिनापछि हुने निर्वाचन र त्यसपछि चुनावबाट प्रधानमन्त्री बन्ने प्रस्तावमा के गर्ने नेता नेपालले निर्णय गरिसकेका छैनन्। 

गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवाले माधव नेपाललाई  सरकारको काम कारवाहीलाई सहयोग पुग्नेगरी गठन गरिन लागेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न अफर गरेका छन् । ‘सरकारलाई सहज पार्न र विवादित विषयको हल खोज्नका लागि पनि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन कुरा भएको छ, त्यसको संयोजक माधव नेपाललाई बनाउने प्रस्ताव छ,’ स्रोतले  भन्यो। 

नेता नेपालले सरकारमा आउने नआउने विषयमा ढुलमुले प्रवृत्ति देखाएका कारण देउवा नेपाललाई अनेक ललिपप देखाइरहेका छन् । भनेजस्तो र रोजेजस्तो ६ वटा मन्त्रालय लिन देउवाले माधव नेपाललाई वचन दिइसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका ८ र नेता नेपाल पक्षका १४ गरी २२ सांसदले साउन ३ गते देउवालाई विश्वासको मत दिएका थिए।त्यसैको गुन तिर्न देउवा–प्रचण्डले अहिलेको सरकारमा नेता नेपाल पक्षलाई ६ वटा महत्वपूर्ण मन्त्रालय रोजेर लिन अफर गरेको स्रोतले दाबी गरेको छ। 

राजनीतिक नियुक्तिमा नेपाल पक्षबाट ६० प्रतिशतभन्दा बढी नियुक्ति गर्न देउवाले बचन दिएका छन्। प्रचण्डले माधव नेपाललाई विप्लव, मोहन बैद्य, विश्वभक्त दुलाल आहुति लगायतका कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा राखेर बनाइने समाजवादी केन्द्रको अध्यक्ष बन्न पनि अफर गरिएको छ । प्रचण्डलाई कम्युनिस्ट पार्टीबीच एकता गरेर जान सुझाव आइरहेका बेला उनले नेता नेपाललाई समाजवादी केन्द्रको अध्यक्ष बनेर एकताको भूमिका खेल्न प्रस्ताव गरेका छन्।

प्रतिक्रिया दिनुहोस