दार्चुला घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न सांसदहरुको माग

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १६ : ३१
दार्चुला घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न सांसदहरुको माग

काठमाडौं । राष्ट्रिय सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले दार्चुला घटनाका विषयमा गम्भीर छानबिन गरी दोषीमाथि कारवाहीको माग गरेका छन। सत्ता गठबन्धन दलका सांसद तथा प्रतिपक्षीदलका सांसदहरु सबैले एक स्वरमा ‘मानवताविरोधी घटना’ संज्ञा दिंदै भारतीय पक्षलाई क्षमायाचना माग्न सुझाव दिए ।

संसद् भवन बानेश्वरमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा धारणा राख्दै सांसदहरुले सो माग गरेका हुन । सांसदहरुले बैठकको विशेष समय र शून्य समयमा धारणा राख्दै जनताको दैनन्दिन समस्या समाधानमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराए ।

नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले नेपालमाथि विदेशी हस्तक्षेप हुनेक्रम जारी रहेको बताए । नेपालका दलले पनि विदेशी हस्तक्षेप आमन्त्रित गरिरहेको उनले टिप्पणी गरे । प्राकृतिक स्रोत साधनमा पारस्परिक हितमा प्रयोग गर्नुपर्ने भएपनि विदेशी शक्तिले आफ्नो स्वार्थमा मात्र केन्द्रीत गरेको बताए । नेपाललाई रणीतिक स्वार्थकोरुपमा प्रयत्न गर्ने काम भइरहेकाले नेपाल र नेपाली सबैजना सचेत हुनुपर्ने उनले चर्चा गरे ।

महाकाली नदीमा तुइन तर्दैगर्दा दार्चुलाका जयसिंह धामी नदीमा खसेर हराउनुभएको घटना गम्भीर रहेको र त्यसमा भारतीय एसएसवीको संलग्नताबारे उचित छानबिन गर्न उनले माग गरे । तुइनको तार काटिएकै कारण धामी नदीमा खसेर बेपत्ता भएको समाचार आइरहेकाले त्यो अमानवीय घटनाको उनले घोर भर्त्सना गरे । भारतीय पक्षलाई तत्काल क्षमायाचना माग्न माग गर्दै उनले त्यस्तो घटना पुनः हुन नदिनेप्रति सरकारले ध्यान दिनुपर्ने उनले बताए।

अहिले नेपालमा राजनीतिक ध्रुवीकरण भइरहेको भएपनि राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा सबै दल र नेपाली एक ठाउँमा रहेको उनले बताए । लोकतन्त्रका विरुद्धमा पुराना सामन्ती शक्तिहरुले अझै तानाबाना बुनिरहेको चर्चा गर्नै सांसद श्रेष्ठले भने, “देश र जनताको निम्ति शहिद र पुर्खालाई केन्द्रमा राखेर आफ्नो गल्ती कमजोरीको आत्मसमीक्षा गर्दै अघि बढौं ।”

नेकपा एमालेका सांसद खिमलाल भट्टराईले वर्तमान सरकार अलोकतान्त्रिक, असंवैधानिक सरकार भएको टिप्पणी गर्दैजनताको मुद्दा छायाँमा पर्न थालेको बताए । राजनीतिको नाममा देश र जनताको भावनामा मजाक भइरहेको चर्चा गर्नुहुँदै सांसद भट्टराईले भने, “लोकतन्त्र अहिले हारेको छ, लोकतन्त्र हार्दा कुनै दलको जित हुँदैन, जनताको पनि जित हुँदैन ।”

जनताको हित र देशको पक्षमा एमाले सङ्घर्ष गर्न जहिले तयार रहेको उनले बताए । अहिले पनि एमाले सबैभन्दा ठूलो दल भएकाले हेक्का राख्न उहाँले आग्रह गरे । कोभिड खोप लिन पनि सोर्सफोर्स लगाउने अवस्था सिर्जना भएको टिप्पणी गर्दै उनले भने, “यसअघिको सरकारले ल्याएको कोभिड खोप पनि व्यवस्थितरुपमा यो सरकारले वितरण गर्न सकेन ।” दार्चुला घटना जघन्य मानवताविरुद्धको अपराध भएकाले गम्भीर भएर छानविन गर्न उनले सरकारसँग माग गरे ।

नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले दार्चुला घटनामा ज्यान गुमाउनुभएका जयसिंह धामीको घटनामा संलग्नको खोजी गरी कडा कारवाही गर्न माग गरे । पीडित परिवारका सदस्यलाई उचित क्षतिपूर्तिको माग पनि उनले भने। जनताले अहिले काम र परिणाम खोजेको भन्नुहुँदै उनले सरकारको प्रचार नखोजेको चर्चा गरे ।

जनता समाजवादी पार्टी जसपाका सांसद शेखरकुमार सिंहले मधेसको मुद्दामा सुनुवाइ गर्न सरकारसँग माग गरे । एमाले सांसद सिंहबहादुर विश्वकर्माले हेलम्बुमा आएको बाढी पहिरोले त्यहाँका नागरिक विस्थापित भएकाले राहत तथा व्यवस्थापनमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

एमाले सांसद ठगेन्द्रप्रकाश पुरीले भूमिसम्बन्धी आयोग सरकारले विघटन गरेर जनताको हितमाथि घात गरेको टिप्पणी गरे । संविधानअनुसार गठन भएको आयोगलाई विघटन गरी सरकारले अनुचित काम गरेको उनले बताए । भूमिहीनको लगत लिएर लालपुर्जा वितरण गर्ने चरणमा रहेको आयोग विघटन गरेर भूमिहीनको समस्यामाथि सरकारले खेलवाड गरेको उनले टिप्पणी गरे।

विशेष समयमा सभा सदस्यहरु इन्दु कडरिया, रामलखन चमार, भगवती न्यौपाने, गोपीबहादुर सार्की लगायतले धारणा राखेका थिए  । त्यस्तै, बैठकको शून्य समयमा सभा सदस्यहरु कोमल वली, खिमलाल देवकोटा, चक्रप्रसाद स्नेही, जगप्रसाद शर्मालगायतले आफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस