चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा

रासस

बुधबार, २० साउन २०७८, १३ : ५०
चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा

चितवन । जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकैको द ग्रिनपार्क रेष्टुराँ एण्ड बारले चुरोट र पानी बिक्रीको निश्चित् रकम समाजसेवामा खर्च गर्ने गरेको छ । रेष्टुरराँले चुरोटको प्रति खिल्ली रु दुई र पानीको प्रतिबोत्तल रु तीन समाजसेवामा खर्च गर्ने गरेको हो ।

रेष्टुराँका सञ्चालक जोन कँडेलकाअनुसार मूल्य बढाएर होइन, चलनचल्तीको मूल्यमै रकम छुट्याउने गरिएको छ । हालसम्म सो रकमबाट क्यान्सर सेवा समाज सेवा चितवनलाई रु २८ हजार ८१६, मितेरी फाउण्डेशनलाई रु २६ हजार ८३२, खैरहनी माध्यमिक विद्यालयलाई २६ हजार ९३८ र रास्कोट अस्पताललाई २७ हजार ४८८ सहयोग गरिसकिएको छ ।

कँडेलका अनुसार रु ६५ हजार सञ्चित रकम रहेको छ । सो रकम चुरोटबाट बचाइएको हो । पानीको रकम पछिल्लो समय शुरु गरिएको हो । पानीको सङ्कलित रकम हालसम्म वितरण गरिएको छैन । अत्यावश्यक क्षेत्रमा सो रकम सहयोग गरिने उनको भनाइ छ ।

रुख, बिरुवा र हरियालीको बीचमा कटेजसहितको यस रेष्टुराँमा तीन सयभन्दा बढी पुस्तकसहित पुस्तकालय रहेको छ । कँडेलको भनाइमा पुस्तकालयमा आएर पुस्तक पढ्दै खाने र रमाउने ४० देखि ५० जना रहेका छन् । रेष्टुराँलाई पूर्ण पारिवारिक बनाइएको उनको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष राजन गौतमले नारायणगढको कोलाहालबाट पैदलनै पुगेर वनभित्रको अनुभूति दिलाउने गरी रेष्टुराँ सञ्चालन गरिएको बताउए । उनले भने, “व्यवसायसँगै समाजसेवा गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।”

भरतपुर महानगरपालिका–४ लङ्कु धारापानीका कँडेलको यो रेष्टुरेन्ट आफ्नै १४ कठ्ठा जमीनभित्र रहेको छ । रेस्टुराँ परिसरमा साल, सिमल, डुम्री, बकाइनो, कटहर, जामुन, बाँस, मलेसियन साल, कपुर, तेजपत्तालगायतका ठूला रुख र फलफूलका बिरुवा रहेका छन् ।

 एक सयभन्दा बढी प्रजातिका बिरुवा र फूलहरु रहेकाले जोकोहीलाई वनभित्र बसेको अनुभूति हुने गर्दछ । रेष्टुराँ परिसरमा बच्चाका लागि पिङ, चिप्लेटी, ढिकिच्याउ जस्ता खेल राखिएका छन् । स्थानीय योगेन्द्र पौडेलले मान्छे तर्साउने ठाउँमा कँडेलले व्यवस्थापन गरेर सामाजिक सेवासहितको व्यवसाय गरेको बताए ।

रेन्टुराँसँगै मूलबाट निस्किएको पानीका तीन वटा धारा पनि रहेका छन् । आठ दाजुभाइमध्ये सातौं सन्तान कँडेलले स्नातकोत्तर गरी राजधानीमा व्यावसायिक अनुभव बटुलेर आफ्नै जमीनमा यो व्यवसाय गरेका हुन् ।

शुरुमा केही साझेदारसँग थालिएको व्यवसायपछि उनी एक्लैले सम्हाल्दै आएका छन् । सो व्यवसायमा रु एक करोडको हाराहारी लगानी भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस