मेलम्ची नगरपालिकाको अपिल : ‘उच्च जोखिम भएका घरमा नबस्नुस’

रासस

बुधबार, २० साउन २०७८, ०८ : ४३
मेलम्ची नगरपालिकाको अपिल : ‘उच्च जोखिम भएका घरमा नबस्नुस’

file photo

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीले क्षति पुर्‍याएका घरमा जोखिम मोलेर बसोबास नगर्न अपिल गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेकोले जोखिमयुक्त घरमा बसोबास नगर्न अपील गरेको हो।

बर्सातको समय सकिएपछि पुनर्निर्माणका लागि सहयोग गर्ने घोषणा गर्दै नगरपालिकाले अहिलेलाई जोखिम मोलेर क्षतिग्रस्त घरमा नबसी सुरक्षित स्थानमा बसोबास गर्न अपिल गरेको हो।बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो। साथै त्यस्तो काममा नलाग्न अपीलसमेत गरेको छ।

केही संस्थाहरुले सहयोगका नाममा मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएकोले त्यस्ता गतिविधिमा नलाग्न नगरपालिकाले सचेत गराएको हो।बाढी प्रभावित नागरिकको गास, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने पनि नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

गत असार १ गतेदेखि नै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको पनि नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ। बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी पनि व्यक्त गरेको छ। तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ।

ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरि इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले बताए । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए।

पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया दिनुहोस