कैलालीमा चैते धानप्रति किसानको आकर्षणः दोस्रोपटक धान भित्र्याउने चटारो

रासस

मंगलबार, १९ साउन २०७८, १३ : ०२
कैलालीमा चैते धानप्रति किसानको आकर्षणः दोस्रोपटक धान भित्र्याउने चटारो

भजनी । कैलालीको भजनी नगरपालिका–३ की सीमादेवी डंगौरा धान भित्र्याउन खेतमा व्यस्त छिन । उनी चैतमा लगाएको धान दोस्रोपटक भित्र्याउन व्यस्त देखिएकी हुन।असारको पहिलो सातासम्म पहिलोपटक चैते धान भित्र्याएकी सीमादेवी मात्रै होइन, यतिखेर भजनीका किसान दोस्रोपटक चैते धान भित्र्याउन खेतमा व्यस्त देखिएको हुन् । बाढी र डुबानका कारण बर्खे धान रोप्नै छाडेका किसानको मुख्य स्रोत नै चैते धान बनेको छ । केही उच्चो ठाउँ भएका किसानले चैते धान भित्र्याएसँगै बर्खे धान रोपे पनि डुबानको जोखिम भएका क्षेत्रमा किसानले धान रोपेका  थिएनन् । 

“हामीले एक बिघामा चैते धान रोपेका थियौँ । त्यसबाट करिब ४० क्विन्टल धान उत्पादन भएको थियो”, सीमाले भनिन् “बाँकी रहेका डाँठबाट फेरि धानको पालुवा आएसँगै अहिले पुनः दोस्रोपटक खेतमा धान पाकेको छ । त्यही धान भित्र्याउन लागेका हौँ ।” उनले तत्काल बाढी नआए लगाएको सबै धान भित्र्याउन सक्ने अवस्था भएमा २० देखि २५ क्विन्टल धान उत्पादन हुने बताईन् ।

सोही ठाउँका चुनीराम डंगौराले एक बिघा १० कठ्ठामा चैते धान रोपेकी थिईन।  पहिलो चरणमा करिब ७० क्विन्टल धान उत्पादन गर्न सफल भएका चुनीरामलाई त्यही खेतबाट पुनः धान भित्र्याउन हतारो छ । “मौसमले राम्रो साथ दिएको छ । उत्पादन भएको सबै धान भित्र्याउन सके अझै ३० देखि ३५ क्विन्टल धान उत्पादन हुन्छ होला”, चुनीरामले भनिन्, “बर्खे धानभन्दा चैते धान कैयौँ गुणा उत्पादनका लागि राम्रो छ । हाम्रा आम्दानी र परिवार पाल्ने स्रोत नै चैते धान बनेको छ ।” उनले बाढी आउने क्षेत्रमा चैते धानको आकर्षण बढ्दै गएको भन्दै चैतमा धान रोपेका अधिकांश किसान दोस्रोपटक धान भित्र्याउन अहिले खेतमै देखिने गरेको बताईन ।

किसान छेदुलाल डंगौराले सात कठ्ठामा २० क्विन्टल धान फलाउन सफल भएको बताउँदै अहिले दोस्रोपटक पनि सोही खेतमा सात क्विन्टल धान फलेको बताईन । “उत्पादन राम्रो छ । तर बर्खे धानभन्दा चैते धानमा मेहेनत बढी गर्नुपर्छ”, उनले भनिन्, “बेमौसम भएका कारण भएर होला धानको उचित मूल्य भने पाइएको छैन ।” धानको मूल्य मनलाग्दी हुँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता रहेको छेदुलालको भनाइ छ । उनले  बर्खे धानको सिजनमा सरकारले नै धानको न्यूनतम मूल्य निर्धारण गर्ने गरेको बताउँदै भजनी क्षेत्रमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी हुने भएका कारण त्यसको मूल्य निर्धाण पनि गरिदिएको भए किसानलाई राहत मिल्ने बताईन । 

रबिना चौधरीले दोस्रो पटक पनि खेतमा औषधि र मलखाद हालेका कारण पहिला पटक जति नै चैते धान उत्पादन हुने बताईन। “हामीले धेरै त लगाएका छैनौं । थोरै भए पनि बाहिरबाट हेर्दा पहिलो पटक नै भित्र्याउन लागिएको धानजस्तो देखिन्छ”, उनले भनिन्, “पहिलो पटक उत्पादन भएको धान घरको लागि राखेका छौं । अब दोस्रो पटक उत्पादन हुने धान बिक्री गरेर अन्य घरायसी खर्चको जोहो गर्ने योजना छ ।” 
 

प्रतिक्रिया दिनुहोस