बर्दियामा धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १४ : २४
बर्दियामा धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ

बर्दिया । बर्दियामा विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

भारत राइपुर सेईबजार मुजगाहान “शंकराचार्य कलेज” का अध्यक्ष निशान त्रिपाठीको घरबाट विभिन्न धनमाल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा निशानकै घरमा काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–४ बाउनपुर गाउँ बस्ने २२ वर्षीय जनक थापा, सोही ठाउँ बस्ने ४६ वर्षीय नरबहादुर थापा र उनकै दाइ ४८ वर्षीय छत्र बहादुर थापा रहेका छन् ।

उनीहरुले शुक्रबार निशानको घरमा कोही नभएको अवस्थामा नगद १३ लाख भारतीय रुपैयाँ र करिब १५ तोला बराबरको हिरा जडित विभिन्न सुनका गहना चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ लाख ५० हजार नेपाली रुपैयाँ र उक्त गहना सहित उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको हो । साथै उनीहरुबाट बरामद गरेको नगद तथा गहना प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस