अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने

एजेन्सी

शुक्रबार, १५ साउन २०७८, १४ : ३२
अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने

काठमाण्डौ । अमेरिकामा कोरोना विरुद्धको खोप लगाउनेले एक सय डलर पाउने भएका छन् । राष्ट्रपति जो बाइडेनले खोप लगाउनेलाई सय डलर दिन सबै राज्यहरूलाई आह्वान गरेका हुन् । यो रकम रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सकिने बीबीसीले जनाएको छ । 

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण फेरि बढिरहेको भन्दै राष्ट्रपति बाइडेनले खोप लगाउन पनि आह्वान गरेका छन् । बाइडेनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि खोपसम्बन्धी नयाँ निर्देशन जारी गरेका छन्।

निर्देशिका अनुसार अब कर्मचारीले खोपको दुई मात्रा लगाउनु पर्ने छ भने भौतिक दूरी पालना र मास्क अनिवार्य लगाउनु पर्नेछ । डेल्टा भेरियन्टको  फैलिँदै गएपछि अमेरिकामा फेरि मास्कको प्रयोग अनिवार्य गर्न भनिएको छ । 

केही दिनअघि राष्ट्रपति बाइडेनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको भन्दै स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस