को हुन् योजना आयोग हाँक्ने नयाँ कमान्डर ?

पत्रपत्रिकाबाट

बुधबार, १३ साउन २०७८, ०७ : ४६
को हुन् योजना आयोग हाँक्ने नयाँ कमान्डर ?

काठमाडौं । सरकारले अर्थविद् डा. विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। 

युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रिकल्चर एन्ड रिसोर्स इकोनमिक्समा विद्यावारिधि गरेका पौडेलसँग स्वदेशसहित अन्तर्राष्ट्रिय दातृ निकायमा काम गरेको अनुभव छ। पौडेल युवा अर्थशास्त्रीका रूपमा परिचित छन्। विगतमा सरकारका योजना निर्माणमा भएका त्रुटिमाथि टिप्पणी गर्दै आएका पौडेल यति बेला आफैं योजना निर्माणको नेतृत्व गर्ने पदीय जिम्मेवारीमा पुगेका छन्।

सरकार परिवर्तनसँगै योजना आयोगका उपाध्यक्षले स्वतः राजीनामा दिने प्रचलन छ। सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी ओली पदमुक्त भएसँगै आयोग उपाध्यक्ष डा.पुष्पराज कँडेलले पनि राजीनामा दिएका थिए। सरकारले आयोगको सदस्यमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ। गुरुङ यसअघि पनि आयोगको सदस्य थिए।  

उपाध्यक्ष पौडेल काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा भिजिटिङ एसोसिएट प्रोफेसर हुन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) मा आर्थिक सल्लाहकारका रूपमा काम गरेका पौडेल युलेन्स एजुकेसन फाउन्डेसनको बोर्ड अफ ट्रस्टी मेम्बर पनि हुन्। पौडेलसँग मिलेनियम च्यालेन्ज नेपाल, सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीको सञ्चालक र सानिमा बैंक लिमिटेडको निर्देशकका रूपमा काम गरेको अनुभव छ।

कोभिडले अर्थतन्त्र थला परेको तथा विकास निर्माणका आयोजनाले गति लिन नसकेको अवस्थामा पौडेल आयोगको उपाध्यक्ष भएका छन्। उनले प्रधानन्त्रीको प्रतिबद्धता पूरा गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। कोरोना महामारीबाट उत्पन्न समस्यालाई ध्यानमा राखेर आफूले काम गर्ने उनले स्पष्ट पारे। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस