बाबुराम भट्टराईले हिन्दु धर्मविरुद्ध अभिव्यक्ति दिएको भन्दै चितवनमा नाराबाजि, विश्वहिन्दू युवा सङ्घ चितवनले जलायो भट्टराईको पोष्टर

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, १५ : २३
बाबुराम भट्टराईले हिन्दु धर्मविरुद्ध अभिव्यक्ति दिएको भन्दै चितवनमा नाराबाजि, विश्वहिन्दू युवा सङ्घ चितवनले जलायो भट्टराईको पोष्टर

चितवन ।  विश्वहिन्दू युवा सङ्घ चितवनले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध चितवनमा प्रदर्शन गरेको छ ।

नेता भट्टराईले सामाजिक सन्जालमार्फत दिएको हिन्दुधर्मविरोधी अभिव्यक्तिको विरोधमा युवा सङ्घ चितवनले नाराबाजी गर्दै भट्टराईको पोस्टर जलाएका हुन् । भारत युपीका मुख्यमन्त्री योगी आदित्यनाथले गंगा नदीमा दुध अर्पण गरी पूजापाठ गरिरहेको विगतको तस्बिरलाई भट्टराईले आफनो ट्विटरमार्फत सेयर गर्दै हिन्दु धर्ममाथि अभद्र टिप्पणी गरेको विरोधमा उनको पुतला दहन गरिएको हो।

कार्यक्रम विश्व हिन्दू युवा सङ्घ चितवनको आयोजनामा चितवनको चौबिसकोठीमा गरिएको थियो। कार्यक्रममा विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य टंकनाथ पौडेल, हिन्दु जागरण नेपाल चितवनका अध्यक्ष नीरज शर्मा काफ्ले लगायतले बोल्दै डा. भट्टराईले आगामी दिनहरूमा पनि यस्ता अभिव्यक्ति दिएमा हिन्दुसमाज चुप लागेर नबस्ने चेतावनी दिएका थिए। बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुको आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ ।

कार्यक्रममा हिन्दु जागरण युवा संघ,चितवनका अध्यक्ष सुनीलकुमार क्षेत्री, हिन्दु जागरण नेपाल चितवन जिल्ला सचिव कृष्णप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम विश्व हिन्दू युवा संघ ,चितवन जिल्ला अध्यक्ष श्याम पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस