हिजो नेकपा एकीकरण हुनु भन्दा अगाडी नेकपा एमाले जहाँ थियो त्यहीँबाटै सुरु गर्नुपर्छ : प्रदीप ज्ञवाली

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, १४ : ५४
हिजो नेकपा एकीकरण हुनु भन्दा अगाडी नेकपा एमाले जहाँ थियो त्यहीँबाटै सुरु गर्नुपर्छ : प्रदीप ज्ञवाली

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेकपा एकीकरण हुनुभन्दा अगाडीका दिनबाट नै सुरु गरेर नेकपा एमाले अगाडी बढ्नुपर्ने बताएका छन् । आइतबार गृह जिल्ला गुल्मीको तम्घासमा  प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले नेकपा विघटन भइसकेको अवस्थामा आफूहरुको ध्यान एमालेलाई एकताबद्ध राख्ने भएको बताए ।  ‘१० बुँदको स्प्रिट के हो भने पहिलो कुरा त पार्टीलाई एकताबद्ध राख्नु पर्छ ’, उनले भने, दोश्रो, हिजो नेकपा एकीकरण हुनु भन्दा अगाडी नेकपा एमाले जहाँ थियो त्यहीँबाटै सुरु गर्नुपर्छ । त्यस सँगसँगै अर्को  के कुरा पनि स्वीकार्नुपर्छ भने यस क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमाले आयो, पुर्व माओवादीका थुप्रै नेताहरु जोडिनु भयो  ।’

पूर्वमाओवादीका नेताहरु एमालेमा प्रवेश गरेको नभइ  प्रचण्डका कारणले एकता सम्भव नभएपछि उनीहरु एमालेलाई नै एकीकृत पार्टीको रुपमा विकास गर्नका लागि जोडिएको बताए । 

उनले नेकपा अदालतले फुटाइदिएको भन्नु गलत भएको पनि टिप्पणी गरे ।  उनले  थपे, ‘ अदालतले नेकपा फुटाएको होइन्, उस्तै नामको नेकपा अर्कैले पहिल्यै  दर्ता गरि सकेकाले अदालतले अर्को नाम फेर्नुहोस् भनेको हो , कमरेड केपी ओली र प्रचण्ड मिलेर अर्को नाम फेरेर अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेका कारण आ–आफ्नो ठाउँमा फर्किनु परेको हो । ’

अदालतले गरेको पछिल्लो फैसलाप्रति भने उनले विमति  जनाए । नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यास सुरु गरेर देशमा अनपेक्षित मोड सिर्जना गरेको उनको दावी छ । 

प्रतिक्रिया दिनुहोस