पहुँचवालाकै पहुँचमा कोरोना विरुद्धको खोप...

पत्रपत्रिकाबाट

विहीबार, ०७ साउन २०७८, ०७ : ४३
पहुँचवालाकै पहुँचमा कोरोना विरुद्धको खोप...

काठमाडौं । नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्। घण्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किएका थुप्रै उदारहण छन्। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाउन पाएका छन्। 

खोपको आसमा रहेका ७२ प्रतिशत नागरिकलाई खोपमा पहुँच पुर्‍याउन धौ–धौ देखिएको छ। विश्वभर साढे ३ अर्बभन्दा बढी व्यक्तिले खोप लगाउँदा नेपालमा ४.३ प्रतिशतले मात्र पाएको देखिन्छ। कोरोना भाइरसबाट जोगिन १८ वर्षभन्दा माथिका नागरिकको नजर खोपमै केन्द्रित छ। देशव्यापी रूपमा २९ असारदेखि खोप अभियान सञ्चालन गरिए पनि कतिपय जिल्लामा स्थगन गरिएको छ।  

मुलुकभर जारी अभियानमा तीन किसिमका खोप लगाइएको छ। कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १८ लाख २८ हजार ४ सय ८४ छ। दोस्रो डोज पाउनेको संख्या ४ लाख ६० हजार ७ सय ३४ छ । १४ लाख २३ हजार ४ सय ४७ जनाले भेरोसेलको पहिलो डोज लगाएका छन्। भेरोसेलको दोस्रो डोज पाउनेको संख्या ६ लाख ८२ हजार ३ सय ९२ छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पछिल्लो समय सञ्चालन भइरहेको जोन्सन एन्ड जोन्सन एक डोज मात्र लगाए पुग्छ। ८१ हजार ३ सय ५२ जनाले यो खोप लगाएका छन्। 

धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउन नसके तेस्रो लहरको जोखिम झन् बढ्ने विज्ञहरू बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार कोरोना परीक्षण पनि न्यून गर्ने र खोपमा पनि ढिलाइ गर्दा संक्रमण झन् बढ्ने जोखिम हुन्छ। सहप्रवक्ता डा= अधिकारीका अनुसार अहिले औसत संक्रमणदर २२ प्रतिशत छ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख डा. अनुप बाँस्तोला निषेधाज्ञा खुकुलो भएसँगै कोरोना पुष्टि हुनेको संख्या क्रमशः बढ्दै गएको बताउँछन्। ‘हरेक दिन १५ देखि २० जना व्यक्ति कोरोना संक्रमणको लक्षणसहित आइरहेका छन्। तीमध्ये ७ देखि १० जनालाई भर्ना गर्नुपरिरहेको छ’, डा। बाँस्तोला भन्छन्, ‘अस्पतालको शय्या खाली हुन पाएको छैन।’

खोप केन्द्र ः संक्रमणको थलो ?
मुलुकभरका ५ हजारभन्दा बढी खोप केन्द्रमा भीडभाड देखिन्छ। भौतिक दुरी कायम नगर्ने, हतार गर्ने प्रवृत्तिले खोप केन्द्र नै संक्रमणको थलो हुने जोखिम बढाएको छ। खोप लगाएर फर्केको केही दिनपछि ज्वरो आउने, खोकी लाग्नेलगायत लक्षण देखिएको डा. बाँस्तोला सुनाउँछन्। ‘खोप अभियान चल्दै गर्दा ती ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएका कारण खोप लगाएको पाँच–छ दिनपछि कोरोना संक्रमणका लक्षण लिएर अस्पताल आउने क्रम जारी छ’, डा. बास्तोला भन्छन्।

खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजनाको समन्वय प्रदेश र सोमातहतका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय सरकारले गर्छन्। तर, अहिले प्रभावकारी समन्वय नहुँदा खोप केन्द्र भद्रगोल बनेका हुन्। मन्त्रालयले यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न, खोप दिने जनशक्ति व्यवस्थापन गर्न अपिलसमेत गरेको छ। ‘सबैको पालो आउँछ। पालो नभएको बेला भीडभाड नगरौं। खोप केन्द्रमा धेरै भीडभाड भए संक्रमण हुनसक्छ’, सहप्रवक्ता डा. अधिकारी भन्छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस