जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु, प्रधानमन्त्री देउवाद्वारा शुभारम्म

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, ११ : २७
जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु, प्रधानमन्त्री देउवाद्वारा शुभारम्म

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई  हस्तान्तरण गरेर साेमबार बिहान शुभारम्भ गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  देउवाले अपाङ्ग अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबौद्ध र पाटन अस्पताललगायत खोप केन्द्रहरु निरीक्षण गर्नेछन् । 

आजदेखि जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुहकालाई दिने कार्यक्रम छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप एक जोड मात्रै लगाए पुग्छ ।

काठमाडौँका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप नेपालले प्राप्त गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस