एमाले नेता तामाङ भन्छन्– पार्टी एक भए देउवाले विश्वासको मत पाउँदैनन्

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, २० : ३६
एमाले नेता तामाङ भन्छन्– पार्टी एक भए देउवाले विश्वासको मत पाउँदैनन्

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले पार्टी एक भए प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत नपाउने बताएका छन् । 

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा उनले भने,‘लामो समय बस्न मन छ भने छिटो विश्वासको मत लिनुहोस्, शेरबहादुर देउवालाई खतरा पर्ला है, छिटो विश्वासको मत लिनुहोस् ।’ उनले आफ्नो पार्टीभित्रको विवाद मिल्ने क्रममा रहेको भन्दै एमाले एकताबद्ध भए देउवाले विश्वासको मत नपाउने स्पष्ट पारे । 

तामाङले आफ्नो पार्टीको जनमत हुँदाहुँदैपनि अदालतको परमादेशबाट सरकार देउवालाई सुम्पिनुपरेको दाबी गरे । उनले भने,‘हामीसँग जनमत थियो । तर, अदालतको परमादेशबाट हामीले सरकार अरुलाई सुम्पिनुपर्यो ।’ उनले एमालेभित्रको आन्तरिक जीवनमा केही खटपट सिर्जना भएको र अहिले आफूहरुबाट पार्टीलाई एकताबद्ध बनाउने प्रयास भैरहेको पनि सुनाए । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनको लागि भोट हाल्नेहरुलाई बाटो खुल्ला रहेको पनि सुनाए । 

उनले देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने पनि सुनाए । उनले देउवाले घोषणा गर्ने निर्वाचनमा आफ्नो पार्टीले भाग लिने पनि बताए । उनले भने,‘हामी अरुजस्तो चुनावबाट भाग्नेवाला छैनौं । भाग लिन्छौं ।’

प्रतिक्रिया दिनुहोस