माधव नेपालमाथि खनिए ओली, अब एमाले एकता कसरी सम्भव होला ?

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १४ : ५२
माधव नेपालमाथि खनिए ओली, अब एमाले एकता कसरी सम्भव होला ?

काठमाडौँ । अन्ततः सर्वोच्च अदालतको परमादेशले केपी ओली नेतृत्वको सरकार ढलेको छ । सत्तारोहणको तीन वर्ष पाँच महिनापछि केपी ओली बालुवाटारबाट बालकोट पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको इन्ट्री भएको छ । बालुवाटारबाट केपी ओली एमालेका युवा कार्यकर्ताको स्कटिङमा बालकोटा पुगेका छन् । ओलीलाई बालकोट पु¥याउन ठूलो एमाले युवा कार्यकर्ताको सहभागिता थियो । 

ओलीले बालकोट पुगेर आफ्ना एमाले कार्यकर्ता तथा शुभेच्छुकहरुलाई संवोधन गर्दै एमालेको सरकार ढाल्ने एमालेकै माधव नेपाल भएको बताए । माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको उनको भनाइ थियो । नेकपा एमालेका अध्यक्ष ओलीले भने, ‘माधव नेपाल गद्दार हुन्, आत्मालोचना गरेर आए पनि पार्टीमा ठाउँ दिने छैन, माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने ठाउँ नै छैन, अन्य नेताले कमजोरी महसुस गरेर आए पार्टीमा उचित जिम्मेवारी दिनेछु ।’

ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नै छैन भनेपछि एमाले विवाद समाधानको लागि बनेको कार्यदलको १० बुँदे निर्णय अन्यौलमा परेको छ । कार्यदलको उक्त निर्णय छायाँमा पर्ने देखिएको छ । ओलीले मंगलबार सिंहदरबारबाट बिदा हुनुपूर्व गरेको सम्बोधनमा नेपालले अराजक र अपराध कर्म गरेको आरोप लगाएपछि एमाले विवाद समाधानमा फेरि ढंगा लागेको छ । एमालेकै सरकार ढालेर विपक्षीको सरकार बनाउन भूमिका खेलेको आरोप नेपाल पक्षमाथि छ। यस्तै एमाले सिध्याउन खोज्नेलाई पार्टीमा ल्याए पनि बलियो कम्युनिस्ट पार्टी नबन्ने बुझाइ ओली पक्षको छ। 

अदालतको फैसलापछि नेपाल समूहबाट आएको अभिव्यक्ति, देउवा प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला बधाई दिने माधव नेपाल, देउवाको सपथ ग्रहण समारोहमा नेता नेपालको सहभागिताले अध्यक्ष क्रुद्ध बनेका छन् ।  सर्वोच्च अदालतको आदेशपछि ओली सत्ताबाट च्यूत भएकोमा माधव नेपालको हर्ष बढाइँ भइरहेको छ, यसका कारण पनि ओली आक्रोशित भइरहेका छन् । दोस्रो तहका नेताको दबाबमा परेर १० बुँदे सहमति गरेको आफूनिकटका नेतालाई माधव नेपालले बताउन थालेका छन् । 

विभिन्न राजनीतिक घटनाक्रमका कारण दुई नेताबीच (माधव र ओली) अब संवादको सम्भावना क्षीण देखिएको छ। योसँगै १० बुँदे सहमति पनि अब अन्यौलमा परेको छ र एमाले पार्टी एकतामा समस्याहरु आउन थालेको छ ।
अदालतको फैसला प्रभावित पारेर एमाले एक भएको देखाउन ओलीले कार्यदलबाट सहमति गराए पनि अदालतको फैसला आइसकेपछि सहमति कार्यान्वयनमा विभिन्न शंका उब्जिएको हो। 

ओली निकट एक नेताका अनुसार अदालतको फैसलापछि देउवासँग घाँटी जोडिरहेका माधव नेपालसँग कसरी एकता होला ? अब अब नेपालसँग संवादको सम्भावना क्षीण रहेको छ, माधव नेपाल अब पार्टीमा रहने अवस्था छैन । उनले भने, ‘उहाँका पछिल्ला गतिविधिले झनै शंका पैदा गरिदिएको छ।’

कार्यदलको सहमति कार्यान्वयनमा लैजाने दायित्व ओली र नेपालकै हो। सहमतिपत्रबारे उनीहरुको औपचारिक धारणा आइसकेको छैन। दुई नेताबीच भेटवार्ता पनि भएको छैन। विकसित राजनीतिक घटनाक्रमले उनीहरुबीच तत्काल सहमति हुने देखिएको छैन। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि अब उनलाई विश्वासको मत दिन पनि नेपाल पक्ष राजी भइसकेको छ । यस्तो अवस्थामा एकता कसरी सम्भव होला ?
 

प्रतिक्रिया दिनुहोस