एकता प्रक्रिया भाँड्न र विभाजन रोक्ने प्रयास नगर्न धम्कीपूर्ण फोन आयो : भिम रावल

‘रअ’का प्रतिनिधिसँग भेटवार्ता पुष्टि गर्न चुनौती दिन्छु’

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १२ : ०९
एकता प्रक्रिया भाँड्न र विभाजन रोक्ने प्रयास नगर्न धम्कीपूर्ण फोन आयो : भिम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी एकताका लागि प्रयास गर्दा आफु माथि विभिन्न लाञ्छना लगाइएको बताएका छन् । उनले एकता प्रक्रिया भाँड्न र विभाजन रोक्ने प्रयास नगर्न धम्कीपूर्ण फोन आएको बताएका छन् । उनले कार्यदलमा एमाले विभाजन रोक्ने प्रयास नगर्न आफूलाई केही राजनीतिक दलका नेताहरुबाट दबाब र धम्कीपूर्ण टेलिफोन आएको बताएका हुन् ।

बुधबार विज्ञप्ति जारी गर्दै रावलले विभिन्न संचारमाध्यममा आफु विरुद्ध अनर्गल प्रचार गरिएको  भन्दै त्यसको खण्डन समेत गरेका छन् । उनले भनेका छन्, ‘नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिसँग भेटवार्ता गरेको पुष्टि गर्न चुनौति दिन चाहन्छु ।’ विभिन्न सञ्चार माध्यमले उच्च सुरक्षा सूत्रको श्रोतले पुष्टि गरेको भनी आफ्नाविरुद्ध मनगढन्ते समाचार प्रकाशन भएको दाबी गर्दै रावलले ‘रअ’का प्रतिनिधिसँग भेट गरेको पुष्टि गर्न चुनौति दिएका हुन्।

गएको असार २० गते राति तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको भेटअघि नेता माधवकुमार नेपालको निवासबाट बालुवाटार जान निस्केका रावल बिच एक घण्टा सम्पर्क भन्दा बाहिर रहेको दाबी खबरहरुमा गरिएको थियो ।

जारी गरिएको विज्ञप्तीमा उनले भनेका छन्, ‘आफ्नो देशभक्ति र जनताप्रतिको समर्पित जीवन आदर्शमाथि आक्रमण गर्ने घृणित प्रपञ्च गरिएको छ ।’ ‘एमाले कतै विभाजनबाट रोकिने पो हो कि भनेर कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगाटाको पर्दा उघारीदिउँ कि जस्तो पो लाग्छ ।’ उनले अगाडी थपेका छन् । 

एमाले कार्यदलले असार २७ गते राति पार्टी एकताको सहमति गरेको थियो ।  एमाले नेता रावलले २० असारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेको कुरा वरिष्ठ नेता नेपाल र रघुजी पन्तलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले ओलीसँगको भेटमा पदका बारेमा छलफल नै नभएको बताए ।

प्रतिक्रिया दिनुहोस