शहर बजारमा अनलाइन कक्षा सुरु, गाउँमा सुनसान

रासस

सोमबार, २८ असार २०७८, ११ : ३८
शहर बजारमा अनलाइन कक्षा सुरु, गाउँमा सुनसान

काठमाडौं । कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि यहाँका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन । ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा कलेलले बताईन। उनले भनिन, “गाउँमा फोनले समेत खासै काम गर्दैन, अनलाइन कक्षा पढाउने त झनै कुरै भएन, हाम्रा बालबालिकाको भविष्य अन्धकार भयो ।” 

यहाँका गाउँघरमा शहर बजारभन्दा बढी विद्यालय भएको र गाउँमा इन्टरनेट नभएका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै अभिभावकमा चिन्ता थपिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाममा रहेका विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका भए पनि गाउँमा रहेका विद्यालयले अहिलेसम्म कुनै पनि वैकल्पिक उपाय अपनाउन सकेका छैनन् । कोरोना कहर कायमै रहे विद्यालय नखुलेको खण्डमा यहाँका विद्यार्थी नपढिकनै परीक्षा दिन बाध्य हुने अर्का स्थानीयवासी चक्रबहादुर बोहराले बताए । उनले भने , “कोरोना कहरका कारण शैक्षिक संस्था खुल्न सकेका छैनन्, विद्यार्थीको पढाइ हुन सकेको छैन, यस्तै चलिरहे विद्यार्थीले नपढेरै परीक्षामा समाले हुन अवस्था आउने छ ।”

गाउँका विद्यालयमा कुनै पनि माध्यमबाट पढाइ नभएपछि यहाँका स्कूले बालबालिका दिउँसोको समय गोरु गोठालो तथा राति सुत्नेभन्दा अरु कुनै विकल्प नरहेको सामुदायिक विकास मञ्च नामक गैरसरकारी संस्थामा कार्यरत यशोदा मल्लले बताईन ।उनले भनिन, “गाउँमा न अनलाइन कक्षा शुरु छ, न त विद्यालय खुलेका छन्, बालबालिका त दिनभरि गोरु गोठालो हुनमै व्यस्त छन्, उनीहरुको भविष्य अन्धकार हुँदै गएको छ ।” यतिमात्र नभई यहाँका शहर बजार नजिकका विद्यालयमा नयाँ शैक्षिक सत्रका पुस्तक पुगे पनि गाउँघरमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । बर्सातले बाटो अवरुद्ध भएका कारण गाउँघरमा समयमै पुस्तक ढुवानीका लागि समस्या हुँदै आएको अमरपुस्तक भण्डार दिपायल पिपल्लाका सर्वजीत देउवाले बताए । उनले भने “शहर बजार क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेका छौँ, गाउँमा वर्षाले समस्या भएका कारण ढुवानी हुन सकेको छैन, सहज भए चाँडै पु¥याउने छौँ ।” 

प्रतिक्रिया दिनुहोस