मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरु, सुधारका काम चाँडै थालिने

रासस

सोमबार, २८ असार २०७८, ११ : १०
मेलम्ची आयोजनाको क्षतिको अध्ययन सुरु, सुधारका काम चाँडै थालिने

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पु¥यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो । 

धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको अध्ययनका क्रममा पाइएको छ । प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ । बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको ‘इनटेक’को भागमा ठोकिएको र त्यसले क्षति पु¥याएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोलीले यहाँ पुगेर यसको अध्ययन थालेको छ । यो अध्ययनबाट ठूलो ढुङ्गाले संरचनामा क्षति पु¥याएको देखिएका छ । 

‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ । उनले भने, “निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ ।”

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयरद्वय शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुगेका थिए । केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो । 

अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै रु एक अर्ब ८० करोडको क्षति भएको छ । अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताए । यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ । उनले भने, “तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन ।” 

पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ । अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकामा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ । उनले भने , “अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ ।” 
 

प्रतिक्रिया दिनुहोस