बेलायतमा एकैदिन थपिए ३५ हजार भन्दा बढी कोरोना संक्रमित

एजेन्सी

शनिबार, २६ असार २०७८, १० : १०
बेलायतमा एकैदिन थपिए ३५ हजार भन्दा बढी कोरोना संक्रमित

एजेन्सी । बेलायतमा एकैदिन ३५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्, जिन  संख्या जनवरी २३ यताकै उच्च हो ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ३५  हजार ७०७ नयाँ संक्रमित थपिएका छन् ।

गतहप्ता शुक्रबार २६ हजार ७५८ जना संक्रमित रहेकोमा यो हप्ता संक्रमित संख्या  ९ हजारले बढेको हो । बेलायतमा कोरोनाको तेस्रो लहर शुरु भएयता यो सबैभन्दा बढी हो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ५० लाख ५८ हजार नाघेको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार इंग्ल्याण्डमा  कोरोना संक्रमण मापन दर (आर)  १.२ देखि १.५ को बीचमा रहेको छ ।  गत हप्ता यो संख्या १.१ देखि १.३ को बीचमा कायम थियो ।

संक्रमण दरमा वृद्धि भएपनि मृतक संख्या भने यथावत नै रहेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार ३६५ जनाको निधन भइसकेको छ ।कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यमा पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार एकदिनमा ५०९ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ रहेको छ ।

कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा ८ करोड भन्दा बढी डोज वितरण भइसकेको छ । यहाँ ६५ दशमलव ३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज लगाइसकेका छन् भने ८६ दशमलव ८ प्रतिशतले पहिलो डोज लगाएका छन् ।पछिल्लो तथ्यांक अनुसार बेलायतमा ८ करोड ७२ हजार १२१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५६ लाख ९७ हजार ८७५ जनाले पहिलो र तीन करोड ४३ लाख ७४ हजार २४६ जनाले दोस्रो डोज लगाएका छन् ।

बेलायतमा संक्रमण दर बढ्दै गएको छ भने सरकारले लकडाउन हटाउने घोषणा गरिसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुलाई १९ मा लकडाउन खोल्ने होलने घोषणा गरेका छन् । यसैगरी दुवै डोज खोप लगाइसकेकाहरुलाई सरकारले यात्रा प्रतिबन्धको नियम पनि सहज गर्ने भएको छ ।