युरो २०२० : डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

एजेन्सी

विहीबार, २४ असार २०७८, ०८ : ४५
युरो २०२० : डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

लन्डन ।  डेनमार्कलाई २–१ ले हराउँदै इंग्ल्यान्ड फाइनलमा पुगेको छ । बुधबार राति लन्डनस्थित वेम्ब्ली रंगशालामा भएको सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा गएको थियो । 

डेनमार्कले खेलको ३०औं मिनेटमा मिकेल ड्याम्स्गार्डको गोलमा अग्रता लिएको थियो । तर त्यसको ९ मिनेटमै इंग्लिस खेलाडी बुकायो साकाको क्रसलाई रोक्ने क्रममा डेनमार्कका सिमोन जायरले आत्मघाती गोल गर्न पुगेका थिए ।

खेलको १०३औं मिनेटमा डेनमार्कका योकिम मिहलले रहिम स्टर्लिङलाई डिबक्स एरियामा फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुर्‍याउन सफल भए ।

पहिलो प्रहार डेनिस गोलरक्षक कास्पर्स माइकलले रोके पनि रिबाउन्ड भएर आएको बललाई केनले गोलमा परिणत गरेका थिए । योसँगै केनले अन्तर्राष्ट्रिय खेलमा ग्यारी लिंकरको १० गोलको रेकर्डसँग बराबरी पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस