पल र आँचलको जोडी, हिट कि फल्प ?

सुजन अधिकारी

सोमबार, १३ कार्तिक २०७४, १९ : ४७
पल र आँचलको जोडी, हिट कि फल्प ?

नाई नभन्नू ल ४’ बाट ठूलो पर्दामा डेब्यू गरेको एक जोडी हो- नायक पल शाह र नायिका आँचल शर्मा । २ सयभन्दा बढी म्यूजिक भिडियोबाट गज्जबको फ्यान फलोइंग बनाएका पल र म्यूजिक भिडियोमार्फत युवा पुस्तामाझ परिचित बनेकी आँचललाई पहिलो फिल्मले नै ठूलो सफलता दिलायो । ‘नाई नभन्नू ल ४’ सफल भएपछि पल र आँचलको माग र चर्चाले आकाश छोयो ।

पहिलो फिल्मको सफलतापछि पल र आँचल दोस्रो फिल्ममा पनि सँगै देखिए । ‘जोनी जेन्टलम्यान’ उनीहरुद्वारा अभिनित दोस्रो फिल्म हो । यो फिल्म भाद्र ३० गते प्रदर्शनमा आएको थियो । पल अभिनित सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनको २ महिनापछि हलमा लागेको ‘जोनी जेन्टलमान’ले दर्शक रिझाउन सकेन । आँचल र पलको जोडीलाई दर्शकले रुचाएपनि फिल्मको कमजोर कथावस्तुले उनीहरुलाई सफलताको खुसीयाली साट्नबाट बन्चित गरायो ।

‘जोनी जेन्टलम्यान’बाट पलको ह्याट्रिक मार्ने सपना अधुरै रह्यो भने आँचलको हिट नायिका बन्ने सपना क्षणभरमै तुहियो । पहिलो फिल्म हिट दिएका पल र आँचल दोस्रो फिल्म ‘जोनी जेन्टलम्यान’बाट पनि सफलता हात पार्नेमा विश्वस्त थिए । तर, फिल्मले आधा प्रतिशत समेत लगानी नउठाउँदै हलबाट बाहिरियो । अहिले सिनेबजारमा पल र आँचलको जोडी हिट कि फल्प भन्ने चर्चा चल्न थालेको छ ।

अब यो जोडीले आफूलाई हिट सावित गर्न एउटा सफल फिल्म दिन आवश्यक छ । संभवतः पल र आँचल अभिनित नयाँ फिल्म ‘शत्रुगते’ यसै वर्ष प्रदर्शनमा आउनेछ । फिल्म ‘शत्रुगते’ले पल र आँचलको जोडी हिट वा फल्प भन्ने कुराको निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस