बालुवाटार बैठकमा जब मागियो शिक्षामन्त्री कृष्णगोपालको राजीनामा

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, १५ : १०
बालुवाटार बैठकमा जब मागियो शिक्षामन्त्री कृष्णगोपालको राजीनामा

काठमाडौँ । आज बुधबार बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा जब शिक्षामन्त्रीको कृष्णगोपालको राजीनामा मागियो, उनी भने गम्भीर र मौन बसे । उनले न राजीनामाको प्रतिवाद गरे, न त तत्कालै गल्ती भएको भन्दै माफी नै मागे । उनको गल्तीप्रति प्रधानमन्त्री केपी ओली नै बोले । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेपछि बैठक हल नै केहीबेर मौन रहेको थियो । पूर्वमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रीले श्रेष्ठ रूपा सुनार प्रकरणमा गल्ती गरेकाले आत्मआलोचना गर्नु पर्ने बताए । थरकै आधारमा रूपा सुनारलाई कोठा नदिएको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन श्रेष्ठ प्रहरी चौकीमै पुगेका थिए । उनकै गाडीमा प्रधानलाई घरसम्म श्रेष्ठले लिफ्ट दिएका थिए । 

‘रूपा सुनारको मुद्दामा एमालेको वरिष्ठ केन्द्रीय सदस्यले जे व्यवहार देखाउनु भयो त्यो दुस्खद र खेदजनक छ। यसले  जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुर्‍याएको छ,’ विश्वकर्माले बैठकमा भने, ‘यस्ता कुराले नेपाल एमालेप्रतिको आशा(विश्वास पनि धुमिल बनाउन सक्छ। त्यसैले उहाँले आत्मआलोचना गर्नुपर्छ।’ उनले तत्काल राजीनामा दिनुपर्ने आफूले सुझाव दिएका थिए । 

जवाफमा प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको र उहाँबाट आत्मालोचना भएको बताए । प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘श्रेष्ठले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताइसकेका छन् ।’ ओलीले यसो भनिरहँदा श्रेष्ठले कुनै प्रतिक्रिया दिएका थिएनन् । बैठकमा सहभागी अर्का नेता बमबहादुर विश्वकर्माले पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए। 

प्रतिक्रिया दिनुहोस