प्रदेश १ को बजेट अधिवेशन बैठक फेरि स्थगित

रासस

मंगलबार, १५ असार २०७८, १५ : ०१
प्रदेश १ को बजेट अधिवेशन बैठक फेरि स्थगित

मोरङ । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

पटकपटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि माओवादी सांसदहरुले नमानेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको सभामुख भण्डारीले जानकारी दिए । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसद विरुद्ध व्यक्तिगत गाली गलौज गरेको भन्दै तत्काल आत्मालोचनासहित रोस्टमबाटै माफी माग्नुपर्ने माग माओवादी सांसदहरुले राख्दै आएका छन् ।

मंगलबारको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८–७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षक माथि छलफल हुने कार्यसूची रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस