सभामुख सापकोटा पनि छलफलमै, आज सम्पादकहरुसँग छलफल गर्ने

सफल खबर संवाददाता

मंगलबार, १५ असार २०७८, ०९ : ३४
सभामुख सापकोटा पनि छलफलमै, आज सम्पादकहरुसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमत्तोमा पटक पटक सरकार गठनको अभ्यास संसदमा नभई राष्ट्रपति र प्रधानमन्त्रीको तजविजीमा हुन थालेपछि सभामुख अग्नि सापकोटा समेत आजित देखिएका छन् ।

उनले संसद विघटनको विरोध गदैं आईरहेका छन् । संसद विघटनमा उनलाई समेत विपक्षी बनाइएपनि उनले विघटनमा असन्तुष्टि पोख्दै आएका छन् । सरकारका तर्फबाट उनको कानुन ब्यवसायीले संसद विघटनको विरोधमा बहस दिदैछन् । त्यसका लागि सरकार पक्षलाई उपलब्ध गराएको समयसिमा १५ घण्टा भित्रै उनका वकिलका लागि १ घण्टाको मात्र समय महान्यायधविक्ताको कार्यालयले बाँडफाँड गरेको छ ।

त्यो एक घण्टाको समयसिमामा पनि सापकोटाको असन्तुष्टि रहँदै आएको छ । उनले यस बीचमा पूर्व सभामुखहरुसँग यस विषयमा केन्द्रीत रहेर अन्र्तक्रिया गरेका थिए । अहिले फेरि उनी अन्य पक्षसँग पनि सम्वादमा जुट्न थालेका छन् । उनले आजै मात्र सम्पादकहरुसँग अन्र्तक्रिया गर्न लागेका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले सम्पादक पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेको उनको सचिवालयले जनाएको छ । सापकोटाका असन्तुष्टि संसद विघटनसँग मात्र छैन । सम्वैधानिक निकायमा भएका जर्बजस्ती नियुक्तिहरुमा समेत छ । उनले संवैधानिक नियुक्तिको विरोधमा सर्वोच्चमा मुद्दा समेत बोकेर पुगेका थिए ।

तर त्यो मुद्दा अग्राधिकारका रुपमा सर्वोच्चले नलिई अझै पनि बहस सुरुआत नगरेपछि फेरि प्रधानन्यायाधिसलाई रिटका निवेदकहरुका तर्फबाट पत्र समेत लेखिएको अवस्था छ । यही परिवेशमा उनले आज सम्पादक पत्रकारहरुसँग छलफल गर्न लागेका हुन् । सभामुखको सचिवालयले जनाए अनुसार आज दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा यस्तो छलफल हुन लागेको हो ।

विपक्षी ५ दलीय गठबन्धनले पनि यस बीचमा सोही हलमा सम्पादकहरुसँग एक दिन, राजनीतिक विटमा कलम चलाउने पत्रकारहरुसँग एक दिन र नागरिक समाजका अगुवा, पेशाकर्मीहरुसँग एक दिन गरी तिन दिन छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस