प्रधानमन्त्री ओलीको स्वेच्छाचारी निर्णयले संविधान संकटमा पर्‍यो : देउवा

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १५ : १३
प्रधानमन्त्री ओलीको स्वेच्छाचारी निर्णयले संविधान संकटमा पर्‍यो : देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान संकटमा परेको बताएका छन्।

बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग विपक्षी गठबन्धनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले ओलीले असंवैधानिक रुपमा दुई पटक प्रतिनिधिसभा विघटन गरेको बताए।प्रधानमन्त्री ओलीबाट गैरजिम्मेवार काम भएको उनको भनाइ छ।

उनले भने, ‘अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्वतयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन्।’

प्रधानमन्त्री ओलीबाट राष्ट्रिय हितमा आँच आउने काम भएको देउवाले बताए। देशलाई संकटतर्फ धकेल्ने काम भएको हुँदा संघर्षमा उत्रिनु परेको उनले बताए।‘राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरु भएका छन्। लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ। यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नविन संघर्ष जारी छ,’ देउवाले भने।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको मिलेमतोमा मध्यरातमा संसद विघटन गरिएको उनले बताए।उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथिनै खतरा उत्पन्न गरेको छ। प्रतिनिधि सभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वान अनुसार हामीले प्रधानमन्त्रीका लागि दावीसहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ। तसर्थ हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौँ।’

पाँच राजनीतिक दल राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चाका साथ अग्रसर भएको उनको भनाइ छ।