राहुल संकृत्यायन : एक फिरन्ते जीवन

सोमबार, २६ चैत्र २०७४, १५ : २८
राहुल संकृत्यायन : एक फिरन्ते जीवन

संकृत्यायनको जीवन मानवीय क्षमताको सीमाहीनतको उदारण हो ।

राहुल संकृत्यायनले सङ्कलन गरेका दुर्लभ मूर्ति, थान्का, काष्ठ चित्र र पाण्डुलिपि समेटेर दिल्लीस्थित इन्दिरा गान्धी कलाको राष्ट्रिय केन्द्रमा मार्च १७ देखि प्रदर्शन जारी रहेको छ । यी अमूल्य पुरातात्विक महत्वका सामग्रीहरू अप्रिल ९ सम्म प्रदर्शनमा राखिनेछ । अप्रिल ९ राहुलको वार्षिकोत्व पनि हो । यो प्रदर्शनबाट १४० वटा किताब लेखेका एक अद्भूत प्रतिभा तथा स्वतन्त्र विचारक राहुलको मानसिकताबारे जानकारी पाइन्छ । उनलाई हिन्दी भाषाको नियात्रा लेखनका सुरुवातकर्ता मानिन्छ । उनको पहिलो किताब ‘तिब्बतमा सवा वर्ष’मा एकदम राम्रो रूपमा तिब्बतको इतिहास, भूगोल र तिब्बतको भावी दिनको विश्लेषण पाइन्छ । सन् १९३२ मा यो प्रकाशन हुँदा यसले हिन्दी यात्रा लेखनलाई बदलिदिएको थियो ।

केदार पाण्डेको नाममा सन् १८९३ अप्रिल ९ मा जन्मिएका संकृत्यायन सानैमा घरबाट भागेका थिए । ज्ञानको भोकले उनलाई बरानसी ल्याइपु¥यायो । यहाँ उनले अभावग्रस्त विद्यार्थीहरूसँग मिलेर संस्कृत पढ्न थाले । बिहारमा एक चर्चित महन्थसँगको भेटले उनको जीवनको बाटो बदलिदियो । उनले प्राचीन संस्कृत र ब्राह्मणीय क्षेत्रको उलेख्य ज्ञान बटुले । मठको उत्तराधिकारीका रूपमा चुनिएका उनले स्वामी रामेदरदासको नाम ग्रहण गरे । तर उनमा रहेको अराजक स्वभावले उनलाई मठमा सीमित हुन दिएन । उनी दक्षिण भारतको भ्रमणमा निस्किए । जहाँ उनी केही समय शास्त्रीय वेदान्त अध्ययनको अटुट परम्पराको हिस्सा भए । पछि उनी वैदान्तिक कर्मकाण्डप्रति उग्र घृणा भावका कारण उनी आर्य समाजतर्फ आकर्षित भए । त्यसपछि उनले केदारनाथ विद्यार्थीको नाममा हिन्दी र उर्दूमा लेख्न थाले । चिन्तनशील दर्शनशास्त्रको अध्ययनको लागि उनी बौद्ध धर्ममा लागे ।

संकृत्यायनको राजनीतिक जीवन सन् १९१९ मा सुरु भयो जब उनी कङ्ग्रेससँग जोडिए । त्यो समय उनी उत्तर बिहारको गान्धीवादी ‘असहयोग आन्दोलन’को महत्वपूर्ण नेता भए । यो समयमा उनी दुई पटक पक्राउ परे । जेलमा छँदा उनले आफ्नो पहिलो उपन्यास ‘वैश्वी सदी’ लेखे ।

उनी सन् १९२६ मा जेलमुक्त भए । सन् १९२७ मा श्रीलङ्काको बौद्ध स्कुलमा पढाउनुअघि उनी हिमालय क्षेत्रमा भ्रमणमा निस्किएका थिए । श्रीलङ्काको बसाइ उनले बौद्ध ग्रन्थ त्रिपिटको आलोचनात्मक अध्ययन थाले । उनले यो समय हराएको बौद्ध लेखहरूको पुनस्र्थापनामा पनि ध्यान दिए । उनले चिनियाँ त्रिपिटकबाट अभिधम्मकोस संस्कृतमा उल्था गरे ।

युरोपेली विद्वानहरूले एसियाबारेमा लेखेको पाठहरू अध्ययन गर्नका लागि उनले स्वाअध्यनबाट फ्रेन्स र जर्मन भाषाको सिके ।

संकृत्यायनको बौद्ध दर्शनमा रहेको तीव्र चाख र उनको अप्रत्याशित स्वाभावले उनलाई तिब्बत पु¥यायो । त्योे समय तिब्बत भारतीयहरूले विरलै घुमेको ठाउँ थियो । उनले आफ्नो नाम उल्लेख नगरी, बाह्य संसारसँग पूर्णत सम्पर्क टुटाएर अत्यन्त कठिन परिस्थितिमा तिब्बत भ्रमण गरे । उनी तिब्बतको राजधानी लास्सामा पन्ध्र महिना बसे । यो क्रममा उनले भारतमा हराइसकेको बौद्ध ग्रन्थहरूको अध्ययन गरे । उनले सङ्कलन गरेका अधिकांश पाडुलिपिहरू हस्तलिखित वा काठको ब्लकमा खोपिएको थियो । केही त सुन र चाँदीको पाउडरले लेखिएको थियो । धार्मिक पाठको अलावामा त्यहाँ धातुविज्ञान, औषधि, तन्त्र, कला, ज्योतिष ज्ञान, जडीबुटी विज्ञान र प्राविधिक विषयहरू, इतिहासहरू र लेखनहरू पनि उनले भेटे ।

श्रीलङ्का फर्केपछि उनलाई बौद्ध कलेजले बौद्ध भिक्षु बनायो । यहाँ आएपछि मात्र उनको परिचय राहुल संकृत्यायन भएको हो । नयाँ परिचयमा उनले आफ्नो यात्रा जारी राखे । उनले फ्रान्स, बेलायत, जर्मनी, माले, जापान, कोरिया, मन्चुरिया, इरान, अफगानिस्तान र सोभियत सङ्घ भ्रमण गरे । यो क्रममा उनी ट्रान्स–साइबेरियन रेलमा चढेर साइबेरिया पनि पुगे । त्यसैले उनको संस्मरण पढ्दा विभिन्न भूगोल विचरण गर्न पाइन्छ । उनको संस्करणमा उनी पुगेको देशको ऐतिहासिक र पराभौतिक तत्वहरूको सूक्ष्म पक्षहरू पनि जोडिएको हुन्छ ।

जीवनको उत्तराद्र्धमा उनले आफ्नो मनपर्ने काम भ्रमणको विज्ञानबारे एउटा किताब नै लेखे । यसलाई उनले ‘भ्रमण शास्त्र’ नाम दिए । उनको ‘भोल्गादेखि गङ्गा’ (१९४२ मा प्रकाशित) मा उनको पृथक् घुमक्कड उत्साह पाइन्छ । संकृत्यायनले दोस्रो पटक सन् १९३४ मा तिब्बतको भ्रमण गरे । यो भ्रमणमा उनले संस्कृतका केही हस्तलिखित, पत्तामा लेखिएको ग्रन्थहरू भेटे । यीमध्ये धेरै अनुवाद भएर त्यहाँको बौद्ध बिहारमा थिए । यो भ्रमणमा उनले तिब्बती काष्ठकला र दजनौं दुर्लभ थान्का चित्रहरू लिएर फर्किए । पछिका भ्रमणहरूमा उनले त्यहाँ रहेका अरू थुप्रै संस्कृत पाण्डुलिपिहरू पत्ता लगाए । यी भ्रमणहरूमा उनले तिनको फोटोहरू खिचेका थिए । यी सिसामा रहेको नेगेटिभ विहार रिसर्च सोसाइटीमा भेटिन्छ ।

सन् १९३० सम्ममा उनले आफूलाई गान्धीवादी राजनीतिबाट टाढा लगिसकेका थिए । उनी ‘कङ्ग्रेस समाजवादी पार्टी’का संस्थापक सदस्य हुन् । यो चरणमा उनले माक्र्सवादी साहित्य अध्ययन गरे र कम्युनिस्ट घोषणापत्रलाई अनुवाद पनि गरे । सन् १९३८ सम्ममा उनी भारतको किसान आन्दोलनको महत्वपूर्ण नेता भइसकेका थिए । उनले विहारमा कम्युनिस्ट पार्टी खोले । १९४० मा उनी कम्युनिस्ट पार्टीको किसान भातृसङ्गठन ‘अखिल भारत किसान सभा’को अध्यक्ष चुनिए । केही अवधिसम्म उनी यस संस्थाको मुखपत्र हुङ्कारको सम्पादक पनि थिए । उनलाई उनको क्रान्तिकारी राजनीतिका लागि हजारीबाग जेल र दियोली इन्टर्मेन्ट क्याम्पमा दुई वर्ष कारागारमा थुनियो ।

सन् १९४४ मा उनले पुनः भारत छाडे । यो समय उनी इरान हुँदै लेनिनग्राद (हाल सेन्टपिटर्सवर्ग) गए । त्यहाँ उनलाई पूर्वीय भाषा अन्तर्गत संस्कृत पढाउन निमन्त्रणा गरिएको थियो । त्यहाँबाट उनी सन् १९४७ मा फर्किए । त्यसपछि आफ्नो बाँकी जीवन उनले हिमालय र श्रीलङ्कामा विताए ।

बौद्धसम्बन्धी उनको सबैभन्दा महत्वपूर्ण कृति सन् १९७० मा मरणोपरान्त छापिएको थियो ।

‘मध्य एसियाका इतिहास (१९५६–१९५७)’ को दुई भागका लागि उनलाई साहित्य एकाडेमी अवार्ड प्रदान गरियो । साथै उनी वितेको वर्ष सन् १९६३ मा उनलाई पद्य भुषणले सम्मानित गरियो ।

संकृत्यायनको जीवन मानवीय क्षमताको सीमाहीनतको उदारण हो । उनको भ्रमणमा, सङ्कलनमा र लेखनमा आफ्नो अलग्गै राज्य निर्माण गरेका छन् । उनको लेखन आजसम्म जीवन्त छ, जसरी उनले सङ्कलन गरेको महत्वपूर्ण पाण्डुलिपिहरू आजसम्म जीवित छ । तिब्बतमै भएको भए ती १९५० को चिनियाँ अतिक्रमणको क्रममा नास हुनसक्थ्यो । तथापि उनकी छोरीले पाण्डुलिपिको अभिभावकत्वमा गम्भीर प्रश्न उठाइरहेकी छिन् । “विहार रिसर्च सोसाइटीको बन्द कोठामा उनले तिब्बतबाट ल्याएका ६४०० भन्दा धेरै पाण्डुलिपिहरू थुप्रिएको छ । त्यसमध्ये केहीलाई नेशनल मिसन फर म्यानुस्क्रिप्टले डिजिटलकरण गरेको छ । सारनाथमा रहेको सेन्ट्रल इन्स्टिच्युट अफ हाइअर तिब्बटेन स्टडीका अध्येताहरूले यसलाई सूचीबद्ध गर्ने तयारी गर्दैछन् । तर यसले सम्पूर्णतालाई समेट्दैन । हामीलाई ती सामग्रीका अध्येताहरूबाट अनुवाद र सुरक्षका लागि विस्तारित पहुँच र सहकार्यको आवश्यकता छ । यो धरोहरलाई भविष्यका पुस्तका लागि सुरक्षित राख्नुपर्छ ।” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस