भाइरल सन्तोषीको हत्या गर्ने चिनेजानेकै व्यक्ति ! हत्यारा छिटै पत्ता लाग्ने प्रहरीको दावी

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १५ : २३
भाइरल सन्तोषीको हत्या गर्ने चिनेजानेकै व्यक्ति ! हत्यारा छिटै पत्ता लाग्ने प्रहरीको दावी

काठमाडौँ । विभिन्न चरा तथा पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको पुष्टि प्रहरीले गरिसकेको छ । 
काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बा आइतबारदेखि नै परिवारबाट सम्पर्कविहीन भएकी  थिइन्। उनी आइतबारदेखि नै दक्षिणकालीमा रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

सन्तोषी सुब्बाको शव मंगलबार बिहान दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा भेटिएको हो। प्रहरीका अनुसार उनको अनुहारमा ढुङ्गाले हानेर हत्या गरिएको देखिन्छ । उनलाई कसले आइतबारदेखि नै दक्षिणकाली ल्याएको हो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले सन्तोषीको हत्या पहिलेदेखि चिनेजानेकै व्यक्तिबाट भएको हुनसक्ने आशंका गरेको छ । प्रहरीले चिनेजानेकै व्यक्तिहरुलाई सोधपुछ गर्न थालेको छ । 

करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीलाई बताएका छन्।​ सन्तोषीसहित धनबहादुरको परिवार कालोपुलमा बस्दै आएका थिए, तर कालोपुल बस्ने सन्तोषी कसरी दक्षिणकाली पुगिन्, उनलाई कसले त्यहाँ पुर्यायो र हत्या गर्यो, सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कसैले ललाईफकाई वा प्रलोभनमा पारी दक्षिणकाली पुर्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । जंगलको छेउमा रहेको सुनसान स्थलमा शव फेला परेका कारण चिनजानकै व्यक्तिले उनलाई त्यहाँ पुर्याएर हत्या गरिएको  हुनसक्ने आशंका प्रहरीको छ । अनुसन्धानलाई साँघुरो बनाउँदै लगेको हुनाले केही दिनमै हत्यारा पत्ता लाग्ने प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस