नेपालमा कोरोना भाइरस विरुद्धको खोप परिक्षण गर्न बाटो खुल्यो

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १५ : १६
नेपालमा कोरोना भाइरस विरुद्धको खोप परिक्षण गर्न बाटो खुल्यो

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोपको परिक्षण गर्न बाटो खुलेको छ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन÷परिक्षण भइरहेको खोपलाई नेपालमा पनि परिक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिदैँ बाटो खोलेको हो ।

मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए । अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परिक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परिक्षणको लागि अनुरोध गर्न सकिने बताए ।

परिक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताए । नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परिक्षण भएकोले कोरोना विरुद्धको खोपको परिक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना सम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै आगामी असार १७ र १८ गते काठमाडौंमा बृहद सम्मेलन गर्न लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस