‘बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिऔँ’

रासस

शनिबार, ०५ असार २०७८, १३ : ५३
‘बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिऔँ’

रुपन्देही । लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले वातावरण स्वच्छ र हराभरा बनाउन वृक्षरोपण आवश्यक रहेको बताएकी छन् ।  

नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल उपमहानगरपालिका–१३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गरीन् । 

स्वच्छ र हराभरा प्रदेश बनाउन सरकारले एक घर दुई बिरुवाको अवधारणा ल्याएको उल्लेख गर्दै उहाँँले यसलाई कार्यान्वयन गर्नका लागि सबै प्रदेशवासीलाई अनुरोध गरिन् । सामाजिक क्षेत्रमा स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री पाण्डेले जहाँ विपद् हुन्छ, त्यहाँ स्काउट पुग्छ भन्ने मान्यता स्थापित भएको बताइन्। 

स्काउटका प्रदेश संयोजक दीनानाथ भट्टराईले स्काउटको सिद्धान्त र मान्यताअनुरूप प्रदेशमा युवाको शारीरिक, मानसिक तथा बौद्धिक विकास गरी अनुशासित स्वावलम्बी र चरित्रवान् बनाउँदै सामाजिक सेवाको भावना जगाउने काम भइरहेको सुनाइन् । उनले २००९ सालमा स्थापना भएदेखि स्काउट सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको उल्लेख गर्दै प्रदेशमा पनि सेवाको भावना राखेर काम भइरहेको जानकारी गराइन् ।

पाणिनि उद्यानका अध्यक्ष ऋषि आजादले जितेश्वरी वन क्षेत्रभित्र पर्ने उद्यानमा ग्रामीण सडक निर्माणसँगै आकर्षक पार्क निर्माणको काम भइरहेको बताए । उनले उद्यानका लागि यस वर्ष सङ्घीय सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको जानकारी गराउँदै यसबाट थप संरचना निर्माण हुने उल्लेख गरे।

कार्यक्रम अन्तर्गत पाणिनि उद्यानमा आँप, अमला, बेल तथा विभिन्न प्रजातिका दुई सय बिरुवा रोपिएको थियो । रोपिएका बिरुवा संरक्षण तथा रेखदेखका लागि नगर समितिलाई जिम्मेवारी दिइएको छ । कार्यक्रममा समाजसेवी दीपक पन्थी, स्काउटर तारा पुरी, भरत अर्याल लगायतले समुदायमा प्रदेशमा आइपर्ने विपद्का घटनामा स्काउटले जहिले पनि अगाडि बढेर सहयोग गरेको बताए। कार्यक्रमअघि पाणिनि उद्यानमा सरसफाइ गरिएको थियो ।