नौ राउण्डको पेस्तोलसहित एक जना पक्राउ

रासस

विहीबार, ०३ असार २०७८, १५ : २८
नौ राउण्डको पेस्तोलसहित एक जना पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोल सहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई  पेस्तोल र पाँच राउण्ड गोलीसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

परशुराम पहिला विसं २०६० देखि यता २०७७ सम्म  पूर्व नेकपा (माओवादी केन्द्र) का जिल्ला सदस्य भएको कारण द्वन्द्वकालको हतियार लुकाएर राखेको र उक्त हतियार देखाएर कतिपयलाई गैरकानूनी रूपमा चन्दा असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०७७ देखि उनले पार्टी परिवर्तन गरेर सङ्घीय समाजवादी पार्टीको जिल्ला सदस्य रहेको खुल्नमा आएको प्रहरीले बताएको छ ।

अवैध पेस्तोल तथा गोलीसहित उनको साथबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ लेखिएको सहयोग रसिद आठ थान, नेकपा (माओवादी केन्द्र) लेखिएको रसिद तीन थान र अखिल नेपाल निर्माण मजदूर सङ्घ लेखिएको रसिद तथा पत्र ८५ थानसमेत प्रहरीले बरामद गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस