बोक्सीको आरोपमा ६५ वर्षिया महिलामाथि कुटपिट

बोक्सीको आरोपमा ६५ वर्षिया महिलामाथि कुटपिट

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १० : ५२
बोक्सीको आरोपमा ६५ वर्षिया महिलामाथि कुटपिट

रौतहट । रौतहटमा बोक्सीको आरोपमा एकजना वृद्धामाथि  कुटपिट भएको छ ।  जिल्लाको माधवनारायण नगरपालिका–५, मिठुहवा टोल बस्ने ६५ वर्षीय श्रीपती देवीलाई उनकै छिमेकी सन्दिप महरासहितको समूहले बोक्सीको आरोपमा साङ्घातिक आक्रमण गरेको पीडित परिवारका सदस्यहरुको आरोप छ ।

गत शनिबार आफ्नो घरबाट शिवनगरस्थित महादेव मन्दिर जानेक्रममा बाटोमा सन्दिप र उनका साथमा रहेका केही अन्य व्यक्तिले श्रीपतीलाई धारिलो हतियार र भाटासहित आक्रमण गरेका थिए । कुटपिटबाट श्रीपतीको टाउको, हात, कान लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरीले घटनास्थलबाट उनलाई आक्रमण गर्न प्रयोग भएको भाटाको बन्डल बरामद गरेको छ ।

श्रीपती देवीलाई सोही बाटो हुँदै खेतमा गइरहेका स्थानीयवासीले देखेर उद्धार गरी चन्द्रपुर–४ स्थित सिभिल अस्पतालमा लगेका थिए । हाल सोही अस्पतालमा उनको उपचार भइरहेको छ । उपचारको क्रममा उनको टाउको लगायत शरीरका १० ठाउँमा ३ सय बढी टाँका लगाइएको चिकित्सकले बताएका छन् ।

श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो । श्रीमानको मृत्यु भएपछि नै उनलाई सन्दिपको परिवारले बोक्सी भन्दै मानसिक यातना दिने गरेको पीडित परिवारको आरोप छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस