नारायणीमा पानीको सतह ४० वर्ष यताकै ठुलो : चितवनका केही ग्रामीण भेग डुबानमा, सतर्क रहन महानगर प्रमुख दाहालको आग्रह

राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा रहन निर्देशन

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, ०९ : १४
नारायणीमा पानीको सतह ४० वर्ष यताकै ठुलो : चितवनका केही ग्रामीण भेग डुबानमा, सतर्क रहन महानगर प्रमुख दाहालको आग्रह

चितवन । अविरल बर्षासँगै नारायणी नदीमा खतरा भन्दा माथि पुगेको पानीको सहत आज केही घटेको छ । पानीको सहत घटेपनि खतरा नटरेको भन्दै नदी तटिय स्थानमा बसोबास गर्नेहरुलाई सर्तक रहन पुनः स्थानिय प्रशासनले आग्रह गरेको छ ।  स्थानिय प्रशासनका अनुसार नारायणी नदीमा हिजो (मंगलबार) देखिएको पानीको सतह ४० वर्ष यताकै सबैभन्दा ठुलो देखिएको थियो । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । यो अहिले सम्मकै ठुलो रहेको जलमापन केन्द देवघाटले जनाएको छ । 

केन्द्रका अनुसार आज बिहानबाट पानी पर्न केही कम भएकाले पानीको सतह घट्दै गएको छ । यसैबिच लगातार बर्षासँगै बाढी, पहिरो, डुबान हुने क्रम तिब्र भएसँगै सम्बन्धित सबै निकायहरुलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले राहत र उद्धारका लागि सजग र तयारी अवस्थामा आग्रह गरेकी छिन् । आज बिहान भरतपुर महानगरपालिकाको वडा नं. २६ स्थित नारायणी नदी छेउछाउ रहेको बस्तीहरु सिसही, सिम्रेनी क्षेत्रको स्थलगत अवलोकन गर्दै उनले नदीबाट हुनसक्ने कटान र डुबानबाट सजग र सतर्क रहन आग्रह गरेकी हुन् । 

लगातार वर्षा भईरहेको छ, नदीको बहावपनि बढिरहेको भन्दै उनले सम्पूर्ण सूरक्षा निकाय, वडा कार्यालय तथा भरतपुर महानगरपालिकाको बिपत ब्यवस्थापन प्रतिकार्य ईकाईलाई समन्वयात्मक ढंगले परिचालित भई नियन्त्रण तथा उद्दारमा खटिन तयार रह्न आग्रह गरिन् । उनले भरतपुर महानगरपालिका भित्र संभाबित डुबान तथा कटानबाट  हुन सक्ने क्षतिलाई रोक्न जोड दिदैं उनले सोही अनुसार काम गर्न सबैलाई आग्रह गरेकी छिन् । प्रमुख दाहालले बाढीपहिरोमा बढी प्रभावित हुनेहुँदा ज्येष्ठ नागरिक, बालबालिका तथा अपाड्गता भएका समुदाय तथा गर्भवती महिलाहरूको विशेष ख्याल गर्न आग्रह समेत गरिन् । 

स्थलगत अनुगमनका क्रममा प्रमुख दाहालले सम्बन्धित जोखिम क्षेत्रका टोल सुधार समिती, यूवा क्लबहरूलाई उद्धार कार्यमा परिचालन गर्न वडाअध्यक्षहरूलाई  निर्देशन दिईन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले समन्वयात्मक ढंगले संभाबित क्षति रोक्न र उद्दारकालागी सबै संयन्त्रलाई तयारि अवस्थामा राखेर काम अगाडी बढाएको बताए ।  नारायणी नदीको उच्च बहाबले भरतपुर महानगरपालिका वडा न २६ को सिसुवारमा डुबानमा परेका १६ घरपरिवारलाई  सुरक्षित स्थानमा सारिएको वडाअघ्यक्ष ज्ञानप्रसाद खनालले बताए ।

यस्तै, वडा नं. १६ को झनझने, गणेश मन्दिर र बिजयनगरको मगरगाँँउको छेउछाउमा करिब १ सय घर डुबानमा परेको र तिनिहरूलाई शरणपुर आधारभूत बिद्यालयसँगै सुरक्षित स्थानमा राखियको वडा अध्यक्ष अमृत हमालले बताए ।  बाढीले वडा न ३ को नारायणी दोभान टोलमा वरीपरीका ५० घर डुबेसंगै त्यहाँका स्थानियहरुलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष चन्द्रमित्र पंडितले बताए ।

 हिजो राति खतरा भन्दा माथि रहेको पानीको सतह आज बिहान देखि खतरा भन्दा तल झरेको छ । बाग्लुङ, पर्वत, गुल्मी तथा कास्की, लमजुङ, गोर्खा, धादिङलगायतका पहाडी जिल्लामा अविरल पानी परिरहेकोले पानीको सतह पुनः खतरा सम्म जान सक्ने भन्दै अझैं केही दिन सजग र सतर्क रहन मौसम बिभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस