चौध हजार खोप कसले चोर्‍यो ?

पत्रपत्रिकाबाट

बुधबार, ०२ असार २०७८, ०८ : २५
चौध हजार खोप कसले चोर्‍यो ?

काठमाडौं । कोरोना कहरमा पनि स्वास्थ्यका केही हाकिम र जनप्रतिनिधिको मिलेमतोमा लुट्ने धन्दा शुरु भएको छ । कोरोना खोपमा चरम बदमासी बढेको भन्दै अहिले दैनिकजसो स्वास्थ्य मन्त्रालयमा गुनासो पर्न थालेको छ ।

जेठ तेश्रो साता चीन सरकारले अनुदानमा पठाएको ८ लाख डोज भेरोसिल खोप नेपाल भित्रियो । सो खोप ६० वर्षमाथि र ६४ वर्षमुनिका ज्येष्ठ नागरिकलाई लगाउने तयारी भयो । काठमाडौं महानगरपालिकाले जेठ अन्तिम साता (२५ देखि २९)गतेभित्र सोही उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन आह्वान ग¥यो ।

तर, हठात् २७ गते नै खोप कार्यक्रम स्थगन भएको सूचना निस्कियो । कारण थियो– खोप गायब बनाइनु । चौध हजार डोज खोप गोलमाल भएसँगै महानगरपालिकाले हठात् कार्यक्रम स्थगन गर्नुपरेको थियो । काठमाडौं उपत्यकामा मात्र ६० वर्षमाथि ६४ वर्षसम्मका  ज्येष्ठ नागरिकको संख्या १ लाख ६५ हजार हाराहारी छ ।

तिनलाई लगाउन भन्दै मन्त्रालयले ६४ हजार डोज स्वास्थ्य कार्यालय काठमाडौंलाई उपलब्ध गराएकोमा कामनपालाई ३३ हजार २ सय र अन्य नगरपालिकाहरुलाई २८ हजार पठाएको हो । जसमध्ये ४६ हजार ४ सय २५ जनाले खोप लगाए । कार्यालयसँग ३ हजार मात्र मौज्दात रहँदा बाँकी १४ हजार डोज खोप खै त ?

यो फण्डामा त्यहाँका हाकिम बद्रिबहादुर कार्की  नराम्रोसँग मुछिएका छन् । अहिले अनुसन्धानको सुई उनीतिर सोझिएको छ । उनले ठूला कर्पाेरेट हाउस र त्यहाँका कर्मचारीलाई खोप बेचेको आशंकामा अनुसन्धान शुरु भएको छ ।  

भेरोसिलमा मात्र होइन, यसअघि कोभिसिल्ड खोपमा समेत स्वास्थ्यका हाकिमले यसैगरी अनियमितता गरेका थिए । चीनमा व्यापार गर्ने भारतीय नागरिकले त तीन लाखसम्म तिरेर खोप लगाएको समेत पाइयो । जनआस्था साप्ताहिकमा खबर छ ।