बाढीले बेँसीशहर-चामे सडक अवरुद्ध

रासस

मंगलबार, ०१ असार २०७८, १५ : ५२
बाढीले बेँसीशहर-चामे सडक अवरुद्ध

काठमाडौं ।आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर-चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मस्र्याङ्दी नदीले सडक भासिएको छ भने सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक नै भासिएको छ । सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्याश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ । 

त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको  बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ । क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको रु २० लाख र मस्र्याङ्दी गाउँपालिकाको रु पाँच लाख गरी रु २५ लाखमा निर्माण गरिएको थियो । 

त्यस्तै, सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०÷ ५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङको भनाइ छ । निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मस्र्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने वडाध्यक्ष गुरुङको भनाइ छ । उनले भने , “भौतिक क्षति भएपनि हालसम्म मानवीय क्षति भने हुन पाएको छैन ।”

यस सडकखण्डमा पर्ने सोही वडाको रामबजार पनि बाढीले केही घरहरु उच्च जोखिममा परेको वडाध्यक्ष गुरुङले बताए । यहाँ विसं २०७५ मा पनि केही स्थानीयवासीलाई बाढीले बगाएको थियो भने घरहरुमा क्षति पुगेको थियो । 

त्यस्तै, बेँसीशहर चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र समेत बगाएको मनाङबाट सुरेन्द्र बरालले जानकारी दिए। उनले भने, “साथै धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासोँ गाउँपालिका—१ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिम बनाएको छ ।” त्यहाँ रहेका सबै घरहरु मस्र्याङ्दी नदीले डुबाउन सक्ने खतरा बढेकाले त्यहाँका स्थानीहरुको उद्धार भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस