नारायणीको बाढीले पश्चिम चितवनमा कटान, उच्च सतर्कता अपनाउन आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, १५ : ०९
नारायणीको बाढीले पश्चिम चितवनमा कटान, उच्च सतर्कता अपनाउन आग्रह

चितवन । लगातार परिरहेका वर्षाका कारण चितवनको नारायणी र राप्तीमा पानीको  सतह बढिरहेको छ । पानी पर्न नरोकिएका कारण पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ । नारायणी नदीमा पानीको सतह बढेपछि भरतपुर महानगरको पश्चिमी क्षेत्रमा जोखिम बढेको छ । खास गरी भरतपुर २६, २७, २८ नं वडामा नारायणी नदीको बाढीले कटान गर्ने जोखिम बढ्दै आएको छ । 

वडा नं २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालका अनुसार पानीको सतह बढेका कारण नारायणी नदी छेउका बासिन्दालाई उच्च सतर्कता अपनाउन निर्देशन गरेको बताए । उनले नदीले कटान गर्न थालेपछि अस्थायी बाँध बाँध्ने काम भइरहेको बताए । उनले भने, ‘सबै निकायलाई तयारी अवस्थामा राखेका छौँ, जोखिम बढ्नसाथ सावधानी भइहाल्छौँ, नारायणीमा पानीको सतह बढिरहेको छ ।’

चितवनमा लगातार पानी परिरहे पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षति नभएको चितवन प्रहरीले जनाएको छ । प्रहरी प्रमुख ओम अधिकारीका अनुसार सुरक्षाकर्मीहलाई हाइअलर्टमा राखेका छौँ, अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको छैन ।  
भरतपुर महानगरपालिकाका वडा नं। २६, २७ र २८ मा नारायणीको डुबान र कटान बढी हुने भएकाले सो क्षेत्रलाई प्रहरीले प्राथमिकतामा राखेर सचेतना अपनाएको छ । 

राप्ती नदीमा पानीको बहाब बढ्दै गइरहेको हुँदा सौराहा क्षेत्र डुबानमा पर्ने जोखिम कायमै छ । सौराहा डुबानमा पर्नसक्ने खतरालाई मध्यनजर गरी तत्काल उद्धारका लागि हात्ती र बोट तयारी अवस्थामा राखिएको छ । गत वर्षहरुमा पनि बाढीका कारण सौराहा क्षेत्र डुबानमा पर्दै आएको थियो । 

चितवनको माडी नगरपालिकाका खोलाहरुमा पनि पानीको बहाब बढिरहेको छ । खोलाहरुमा अचानक पानी बहाब बढेपछि खोला आसपासका बासिन्दामा त्रास छाएको छ । चितवन प्रशासनले सतर्कता अपनाउन भनेको छ । प्रशासनले विज्ञप्ति जारी गरी लगातार पानी पर्ने मौषमविदको भनाइलाई आधार मान्दै नदी तथा खोलाहरुका छेउछाउका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । 


 

प्रतिक्रिया दिनुहोस