सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

रासस

सोमबार, ३१ जेठ २०७८, २१ : २७
सभामुख सापकोटाद्वारा सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज गृह जिल्ला सिन्धुपाल्चोकका दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

सभामुखले बाह्रबीसे नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र र बलेफी गाउँपालिका, जलवीरेस्थित जलवीरे प्राथमिक स्वास्थ्यलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

सभामुख सापकोटाले केन्द्रको अवलोकन गरी नगर प्रमुख निमफुन्जो शेर्पा, उपप्रमुख सुशीला पाख्रिन र केन्द्रका निमित्त प्रमुख डा अनिलकुमार राउतसँग केन्द्रमार्फत दिइएको स्वास्थ्य सेवा र अभावका बारेमा जानकारी लिएका थिए । 

स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर 
सभामुख सापकोटाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको रकमबाट जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर गरिएको छ । यसअघि पनि चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाकालगायत पूर्वाधार विकासका लागि रु १५ लाख रकमान्तर गरिएको थियो । 

विपद्पूर्व तयारीमा जुट्न आग्रह 
सभामुख सापकोटाले स्थानिय तहका जनप्रतिनिधिलाई वर्षात्का कारण  हुन सक्ने सम्भावित जोखिम र कोभिड–१९ को सम्भावित तेस्रो लहरका लागि पूर्वतयारीमा रहन आग्रह गरेका थिए ।  

बाह्रबीसे नगरपालिका प्रमुख र उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतसँगको छलफलका क्रममा उहाँले नगरपालिका गरिरहेको पूर्वतयारीका सम्बन्धमा जानकारी लिनुभएको हो । यस्तै सभामुख सापकोटाले बलेफी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बद्ध अधिकारीलाई सम्भावित विपत्तिबारे सतर्क रहन र पूर्वतयारीमा जुट्न आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस