कोरोना नियन्त्रणका लागि सरकारले खोप खरिदलाई प्राथमिकता दिनुपर्छ : कोइराला

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १५ : १८
कोरोना नियन्त्रणका लागि सरकारले खोप खरिदलाई प्राथमिकता दिनुपर्छ : कोइराला

काठमाडौं । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरिदलाई प्राथमिकता दिनुपर्ने बताएकी छिन। गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो ?’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले यस्तो बताएकि हुन । 

“अनुदानमा ल्याएर मात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरिदलाई प्राथमिकता दिनुपर्छ”, उनले भनिन । फाउण्डेसनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन् ।

फाउण्डेसन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेसनले समसायमयिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताए । गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेसनले हालसम्म विभिन्न विषयमा ३७ औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस