बागमती प्रदेश : नरोत्तम वैद्यलाई कारबाहीको माग गर्दै १५ वटा जनसंगठनले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १७ : ४०
बागमती प्रदेश : नरोत्तम वैद्यलाई कारबाहीको माग गर्दै १५ वटा जनसंगठनले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेकपा एमालेका विभिन्न १५ वटा जनसंगठनहरुले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्र लिएर गृह मन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीको ज्यान सुरक्षामाथि धावा बोलेकोले फौजदारी कसुरमा मुद्दा चलाई कारबाही गर्न माग गरेका हुन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताएका थिए। शुक्रबार बागमती प्रदेशसभा बैठकमा वैद्यले आफू प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए।

प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुर्पयो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’

यद्पि वैद्यले नेपाली कांग्रेसको निर्देशन अनुसार ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति आत्मालोचनासहित फिर्ता लिइसकेका छन्।  शनिबारको प्रदेशसभा बैठकमार्फत उनले शुक्रबार दिएको अभिव्यक्ति फिर्ता लिएका हुन्।

प्रतिक्रिया दिनुहोस