प्रधानमन्त्री ओली दाहिना भएपछि इश्वर पोखरेल मालामाल !

सफल खबर संवाददाता

शनिबार, २९ जेठ २०७८, १० : ५१
प्रधानमन्त्री ओली दाहिना भएपछि इश्वर पोखरेल मालामाल !

काठमाडौं । प्रधानमन्त्री केपी ओली सत्तारोहण भएसंगै उनी निकट रहेका ईश्वर पोखरेल लामो समय मन्त्री पदमा आसिन रहने भाग्यमानी नेता हुन् । प्रधानमन्त्रीसँग  नजिक भएकै र उनले अ¥हाएको काम तथा गुनगान गाउने भएकाले पुरस्कार स्वरुप लामो समय सम्म मन्त्री पदमा टिक्न सफल रहे । प्रधानमन्त्री ओलीले अहिले १८ औं पटक मन्त्रिपरिषद पुर्नगठन गर्दा केही दिन अगाडी मात्रै उनी मन्त्री पदबाट बाहिरिएका हुन् ।

नेपाली राजनीतिमा इश्वर पोखरेल एउटा यस्ता पात्रको रुपमा परिचित छन्, जो सधै सत्ता र शक्तिमा बस्न रुचाउछन् । पदमा रहदै गर्दा पैसा चलखेल गरेको आरोपमा उनी बारम्बार विवादमा नतानिएका व्यक्ति भने होईनन् ।  ट्यांकी प्रकरणदेखि पछिल्लो पटक वीर अस्पतालको ठेक्का प्रकरणसम्म आइपुग्दा पोखरेल अनेक विवादमा घेरिएका हुन् ।  प्रधानमन्त्री ओली पदमा आसिन भएदेखि पोखरेललाई पछिल्लो तीन वर्ष असाध्यै स्वर्ण युग बन्न पुग्यो । कहिले नेपाली सेनाको ठेक्का उनकै लागि निकालेको जस्तो बन्न पुग्यो । नेपाल प्रहरीको ठेक्कापट्टा, सरुवा बढुवा, कर्मचारी नियुक्ति, आफन्तलाई सहजै जागिर उनको अर्को परिचयको रुपमा स्थापित भयो । 

तत्कालीन एमालेको बल्खु दरबार निर्माण गर्दादेखि नै भ्रष्टाचारमा मुछिएका पोखरेलले पछिल्लो पटक त ओलीसँग सनिक्कट भएर गरेको काममा अनियमितताको फाइलको चाङ नै लागेको छ । उनकै गुटका वाग्मती प्रदेशसभा सदस्य नारायणबहादुर सिल्वालले ईश्वर कणबाट कोही कसैले सिकोस् पनि भन्ने गरेका छन् । किनकी, अनेकन खुराफात गर्न जानेका तथा कतिपय मामिलामा त बालुवाटारलाई समेत चक्मा दिन सक्ने विशेष क्षमता भएका पात्रका रुपमा पोखरेल स्थापित छन् । पार्टीको सत्ता उनका लागि सधै दाहिना नै भएको छ । सरकारी सत्ता समेत त्यसमा जोडिएर आएपछि कस्को के लाग्ने ? उनलाई चिन्ने जान्नेहरु यसै भन्छन् । 

नेपाली सेनाको अधिकांश ठेक्कामा प्रतिशत खोजेपछि त्यो विषय प्रधानमन्त्री ओलीको सामु पुग्यो । सेनाका अधिकारीले पोखरेलले अति नै गरेको पोल लगाएपछि पोखरेल रक्षामन्त्रीबाट फालिए । त्यसपछि पदमा उपप्रधानमन्त्रीको नाम दिइएपनि प्रधानमन्त्री कार्यालयमा फालिएका उनको हैसियत राज्यमन्त्रीको भन्दा माथि थिएन । तर, त्यसलाई समेत उनले राम्रै सदुपयोग गरे । सम्पत्ति शुद्धिकरण विभाग, आन्तरिक राजश्व विभागलगायतका महत्वपूर्ण विभाग प्रधानमन्त्री कार्यालय मातहत नै थियो । ती विभागले अध्ययन गरेर तयार पारेका प्रतिवेदन सबै हातमा लिए । व्यपारी बोलाए, सरकार र पार्टीलाई सहयोग गर्न भन्दै राम्रै आर्जन गरे ।

यो आरोप होइन, उनकै सचिवालयमा चर्चा हुने विषय हो । उनको सचिवालयमा रहेको भीडभाड माहुरीको चाकामा माहुरी झुम्मिए जस्तै हुनुको पछाडि त्यही कारण रहेको जानकारहरुको भनाइ छ । उनको सचिवालयमा झण्डै दुई दर्जनको हाराहारीमा उनको सचिवालयमा सहयोगी कार्यरत थिए ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ठेक्कामा स्वाद पाएका पोखरेलले आङछिरिङ शेर्पा मार्फत पनि राम्रै कमाउन सफल भए । सोही कारण यति समूहलाई पूर्व राजपरिवारको सम्पत्ति जिम्मा लगाइएको थियो ।  कानून नै परिवर्तन गरेर नेपाल ट्रष्टको अध्यक्ष बन्न पोखरेलले गरेको बदमासी नेपालको कानूनी इतिहासमा कालो धब्बाका रुपमा स्थापित नै भएको छ ।

ट्यांकीमा पैसा लुकाएको आरोप लागेका उनका लागि  सबैभन्दा सजिलो तरिकाले पैसा कमाउने यो भन्दा अरु कुनै विकल्प नै थिएन । शेर्पा हेलिकोप्टर दुर्घटनामा परेर बिते । तर, पोखरेलका लागि केही फरक परेन । कोरोनाको नियन्त्रणका लागि सिसिएमसी नामक संरचना खडा भयो । त्यो संरचनाका प्रमुख उनै पोखरेल बने । पोखरेलले त्यसलाई समेत आर्जन गर्ने माध्यम बनाए ।  वीर, अस्पताल शिक्षण अस्पतालको सामान खरिदमा समेत छोराका नाममा कम्पनी खडा गरियो । त्यो कम्पनीमार्फत आर्जन गर्न पनि उनी पछि परेनन् । डा. जागेश्वर गौतमलाई डेडिकेटेड वीर अस्पतालको प्रमुख बनाएर पठाउनुको पछाडि पनि उनै पोखरेलको हात रहेको जानकारहरुको बीचमा चर्चा परिचर्चा हुने गरेको छ । 

उपप्रधानमन्त्री पोखरेलले रक्षामन्त्री समेतको जिम्मेवारी सम्हाल्दा देखाएको सम्पत्ति विवरण अस्वाभाविक नै थियो । ‘उनले ट्ंयाकी प्रकरणदेखि सबै सम्पत्ति श्रीमतीको नाममा राख्ने गरेका छन् । कानूनले त श्रीमान, श्रीमती जसको भएपनि अस्वाभाविक कमाईलाई चिन्दैन । काठमाडौंको रैथाने परिवारमा विवाह भएको हुँदा दाइजोमा पाएको समेत भन्न पछि पर्दैनन् पोखरेल । तर,कम्युनिस्ट आर्दशलाई पछ्याएको दावी गर्ने पोखरेलले सम्पत्ति दाइजोमा लिएको भन्न समेत पछि मान्दैनन् । 

उनले रक्षामन्त्रीको जिम्मेवारी सम्हालेकै बेला प्रस्तुत गरेको सम्पत्ति विवरणमा श्रीमती मीरा ध्वँजु पोखरेलको नाममा सम्पूर्ण घरजग्गा र जमीन रहेको दावी गरेका थिए ।  यस्तै, झापाको चन्द्रगढीमा पैतृक सम्पत्ति वापत १२ कठ्ठा जग्गा पोखरेलको नाममा रहेको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकमा ७ लाख रुपैयाँ बचत रहेको पनि पोखरेलले सम्पत्ति विवरणमा उल्लेख गरेका थिए । धनी मन्त्रीहरूमध्येमा पर्ने उपप्रधानमन्त्री करोडौंका मालिक हुन् । तर, मन्त्रबिाट हटेपछि उनले कुनै पनि सम्पत्रि विवरण सार्वजनिक गरेका छैनन् । स्रोत भन्छ, हिसाब किताब नमिलेका कारण उहाँको विवरण सार्वजनिक नगरिएको हो । 

स्वास्थ्य सामग्री खरिददेखि कयौं घोटालामा आरोप खेपिरहेका पोखरेलको नयाँ सम्पत्ति विवरण सार्वजनिक नभएपनि अघिल्लो पटक मन्त्री हुँदाको विवरणअनुसार उनका अन्य सबै सम्पत्ति श्रीमतीको नाममा छ । पोखरेलकी श्रीमती मीराको नाममा काठमाडौं टोखा–६ धापासीमा घरजग्गा रहेको छ । २३ आनामा बनेको ३ तले आलिशान महलमा पोखरेल बस्छन् । सो घर समेत उनले मीराकै नाममा राखेका छन् । त्यत्ति मात्रै होइन, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना जग्गा पनि मीराकै नाममा छ । सम्पत्ति विवरणमा उक्त जग्गा श्रीमतीको माइतबाट प्राप्त भएको उल्लेख गरेका छन  । उनको माइतीले झण्डै अर्ब पर्ने त्यत्रो सम्पति दिन सक्ने हैसियत नै नभएको जानकारहरु बताउँछन् । 

यस्तै, मीराको नाममा धादिङको खानीखोलामा ४ रोपनी जग्गा रहेको छ । सो जग्गा कुन स्रोतबाट खरिद गरिएको हो भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।  त्यसैगरी, मीराको विभिन्न कम्पनीमा शेयर लगानी गरिएको छ । बरुण हाइड्रोपावर कम्पनीमा १० हजार, कृषि विकास बैकमा २ सय, मोर्डन कन्या मल्टिपल कलेजमा ५ हजार बराबरको सेयर कित्ता रहेको देखाउने गरिन्छ ।  पोखरेलले आफ्नी श्रीमतीसँग वि.सं. २०२० साल यता ९ तोला सुन र २५ तोला चाँदी सम्पत्ति रहेको बताउने गरिन्छ । तर, पोखरेलको रवाफ हेर्दा, उनको अघि पछि दौडने जमात हेर्दा लाग्छ, उनको दैनिक खर्च नै लाखौको हाराहारीमा हुन्छ । त्यसो भए, त्यत्रो पैसा कहाँबाट आयो ? आम नागरिकमा जिज्ञासा छ । 

एमाले महासचिव पोखरेल पूर्वराजा ज्ञानेन्द्र शाहको माघ १९ को घोषणालगतै पक्राउ परे । तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री रहेका पोखरेलको घरमा खानतलासी गर्दा पानी ट्यांकीमा पोलिथिनले बेरेर राखेको अवस्थामा पैसा नै पैसाको बण्डल भेटिएको थियो । पछिल्लो तीन वर्षमा मात्रै पोखरेलले झण्डै अर्ब बराबरको स्म्पत्ति जोडेको उनका निकटस्थहरुको दावी छ । यसबारेमा बुझ्न पटक पटक पोखरेलको मोबाइलमा सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आएनन् । यस्तै, सरकारले कोभिड अस्पताल घोषणा गरेको वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत बनाइएका डा. जागेश्वर गौतमलाई पनि पोखरेलले नै त्यहाँ लगेको चर्चा छ । किनकी, वीर अस्पतालमा हुने खरिदका लागि छोराका नाममा दर्ता भएको कम्पनी मार्फत खेलोफड्को गर्नु । 

डा. गौतम आफै गम्भिर आर्थिक अपराधमा मुछिएका व्यक्ति हुन् । न्याम्स ऐन विपरीत बनाएको र किर्ते गरेको अभियोगमा अदालतबाट सजाए पाएकालाई अस्पताल प्रमुख बनाएको भन्दै न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्रीको कार्यालय, कोभिड १९ निर्देशन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको छ ।

अस्पतालको  नयाँ सर्जीकल भवनमा खरिद हुने ४ अर्बको उपकरण र दुवाकोट परियोजनाको डिपिआरको बजेटलाई लक्षित गरेर  मन्त्रालयले बिवादित डा. गौतमलाई त्यहाँ  पोखरेलले लगेका हुन् । डा. गौतमले चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज तथा बिभिन्न अस्पतालमा लगानी गरेको भनी यसअघि नै कारबाहीमा परेका व्यक्ति हुन् । उनीमाथि किर्ते अभियोग लागेर प्रमाणित समेत भएको थियो ।  उनले स्वास्थ्य सेवा ऐनविपरीत चितवन मेडिकल कलेज, मौलाकालिका अस्पताल र ओम अस्पताल लगायतमा शेयर लगानी गरेको र दरबन्दी रहेको अस्पताल छाडेर चितवन र काठमाडौंमा काम गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा स्वास्थ्य मन्त्रालयले नै डा. गौतमलाई कारबाही समेत गरेको थियो ।

गैरकानुनी रुपमा चितवन मेडिकल कलेजमा लगानी गरेका गौतमले त्यहाँ फेरि अर्को काण्ड मच्चाए । उनले भारतीय नागरिक  निलेशकुमार दिलसुखभाई अग्रवाललाई ३२३२३७० कित्ता सेयर विक्री गरी सिएमसीको अध्यक्ष आफू नै भएको दावी गर्दै शेयर वापतको रकम आफ्नो ऐभरेष्ट बैकको खातामा जम्मा गर्न लगाएका थिए । सोही विषयमा चितवन मेडिकल कलेजले काठमाडौ जिल्ला अदालतमा २०७० मा किर्ते जालसाजी मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलाशले डा. गौतमलाई किर्ते जालसाजी गरेको ठहर गर्दै  तीन हजार जरिवाना गरेको थियो । त्यस्ता व्यक्तिलाई पोखरेलको जोडबलमा नै वीर अस्पतालको प्रमुख बनाइनुको पछाडि चार अर्ब बराबरको सामान खरिद नै रहेको बताइन्छ । 

डा. गौतम अहिले आफ्नो समेत लगानी रहेको म्याक्सिम इन्कर्पोरेशन ट्रेडसमार्फत आफ्नो ब्यापार बढाउन तल्लिन छन् । सो कम्पनी इश्वर पाखेरलेका छोराको रहेको स्वयम् गौतम नै बताउँछन् । त्यसबारेमा बुझ्न डा गौतमलाई सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आएनन् ।

प्रतिक्रिया दिनुहोस