काठमाडौँ उपत्यकामै सिटामोलको अभाव

शनिबार, २९ जेठ २०७८, ०९ : ०७
काठमाडौँ उपत्यकामै सिटामोलको अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो । बजारमा सिटामोल अभाव हुन थालेपछि यतिबेला आमउपभोक्ता मेडिकल पसल चहार्न थालेका छन् । पछिल्लो समय अस्पताल जानेभन्दा घरमा आइसोलेसनमा बस्ने सङ्क्रमित धेरै हुँदा सिटामोल खरिद उच्च हुन पुगेको छ ।

उपभोक्ता अधिकारकर्मी भने औषधि उत्पादक व्यवसायीले कोभिडको यो सङ्कटको बेलामा औषधिजस्तो संवेदनशील विषयमा कृत्रिम अभाव सिर्जना गरेको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको बताए । उनले भने, “अहिले बजारमा दुई कारणले सिटामोल अभाव भएको छ । एक भारतमा महँगो मूल्य पाइने भएकाले निर्यात गरिएको छ। अर्को भएको सिटामोल लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गरिएको छ ।”

नेपाल औषधि उत्पादन सङ्घका महासचिव विमल अधिकारीले सिटामोलको उत्पादनमा कुनै कमी छैन तैपनि बजारमा अभाव देख्दा आफूलाई आश्चर्य लागेको बताए। सिटामोलको भाउ बढ्नुका तीन कारण रहेको भन्दै उनले भने, “पहिलो बजारमा उच्च माग, दोस्रो औषधि वितरकबाट भारतमा महँगोमा बिक्री, तेस्रो सिटामोलको कच्चा पदार्थको पनि अभाव हुन थालेको छ । ती सबैको असर अहिले बजारमा देखिएको छ । ” उनले भने, “औषधि उत्पादनमा कुनै कमी अहिलेसम्म भएको छैन । पछिल्लो एक महिनाको बीचमा मात्रै डेढ करोड ट्याब्लेट सिटामोल उत्पादन गरेर बजारमा पठाएका छौँ । आज मात्रै ६२ लाख ट्याब्लेट बजारमा गएको छ ।” 

बजारमा सिटामोलको अभावको हल्ला चलेपछि उत्पादक सङ्घले शुक्रबार उपत्यकाका तीन जिल्लामा सञ्चालित फार्मेसीमा अनुगमनका क्रममा पनि अभाव भएको पाइएको महासचिव अधिकारीले जानकारी दिए । “बजारमा औषधि निर्बाध गइरहेको छ तर पनि बजारमा छैन किन ? यसबारेमा सरोकारवाला सबैलाई जानकारी गराइसकेका छौँ, कहाँ गएको छ त्यो सरकारका जिम्मेवार निकायले खोज्नुप¥यो नि,” महासचिव अधिकारीले भने । यस विषयमा सबैको ध्यानाकर्षण भइसकेकाले अर्को साता अभावको अवस्था नआउने उनको भनाइ छ ।

अहिले हामीले पर्याप्त मात्रामा सिटामोल पठाएका छौँ तर उपभोक्तासम्म नपुगेको देख्दा अचम्म लागेको छ, सङ्घका महासचिव अधिकारीले भने, “उत्पादन भए पनि बीचमा नै औषधि हराइरहेको छ । यसर्थ भारततर्फ निकासी भएको भन्ने आशङ्का छ । ”त्यसो त यतिबेला भारतीय बजारमा भन्दा नेपाली बजारमा सिटामोलको मूल्य कम छ । नेपालमा एक रुपियाँ पर्ने सिटामोल भारतीय बजारमा भारतीय लगभग दुई रुपियाँ पर्न जान्छ । खुला सीमाका कारण नेपाली बजारमा खरिद गरेर भारतमा बेच्ने गिरोह सक्रिय हुँदा पनि नेपालमा उत्पादित सिटामोल व्यवसायीसम्म पुग्न नसकेको हुनसक्ने उद्योगीको आशङ्का छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस