कोरोनाको हटस्पट बनेको लुम्बिनी प्रदेशमा संक्रमण दर घट्यो

अस्पतालका शैंय्याहरु खाली हुँदै

पत्रपत्रिकाबाट

शनिबार, २९ जेठ २०७८, ०८ : ०१
कोरोनाको हटस्पट बनेको लुम्बिनी प्रदेशमा संक्रमण दर घट्यो

नेपालगन्ज । तीन साताअघिसम्म कोरोना भाइरस संक्रमणको हटस्पट बनेका लुम्बिनी प्रदेशका रूपन्देही, दाङ र बाँकेमा संक्रमित घटेका छन् । तीन जिल्लामा न्यून संख्यामा संक्रमण पुष्टि भइरहेको छ ।

संक्रमण घटेपछि जिल्लाका अस्पतालहरूमा बिरामीको चाप कम भएको छ । कोरोना संक्रमितका लागि छुट्याइएका बेड पनि खाली भएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डका दुई सयमध्ये बिहीबार साँझसम्म १ सय ५ बेड खाली थिए । त्यस्तै नेपालगन्ज मेडिकल कलेजको कोभिड वार्डका १ सय ३० मध्ये ९७ र वेस्टर्न अस्पतालका १६ मध्ये १४ बेड खाली भएको छ । युनाइटेड अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएका १५ बेड पनि खाली छन् ।

संक्रमणको दोस्रो लहर सुरु भएपछि हटस्पट बनेको जिल्लामा दुई साताअघिसम्म बिरामीले बेड सजिलै पाएका थिएनन् । भेरी अस्पतालमा चाप थेग्न नसकेर परिसरमा पाल टाँगेर उपचारको अस्थायी व्यवस्थापन गरिएको थियो । सरकारी र निजी अस्पताल संक्रमितले भरिभराउ थिए । अहिले बाँकेका अस्पतालमा संक्रमितको चाप स्वाट्टै घटेको छ ।

स्थानीय तहले बनाएका आइसोलेसन पनि रित्तै छन् । बिरामीले बेड नपाएर छटपटिनुपर्ने अवस्था हटेको छ । ‘पछिल्लो समय संक्रमण कम हुँदै गएको देखिन्छ । लामो अवधि निषेधाज्ञाका कारण भीडभाड घट्दा यस्तो भएको हुनुपर्छ,’ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले भने, ‘शंका लागेर परीक्षण गराउनेमध्ये पनि पहिलेभन्दा कममा संक्रमण देखिन थालेको छ ।’कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस