नेपालले आज अष्ट्रेलियासँग खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, २८ जेठ २०७८, ११ : ४०
नेपालले आज अष्ट्रेलियासँग खेल्दै

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग ३-० ले पराजित भएको थियो ।

समूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ ।

यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ । यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ ।

समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ ।नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन् । बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा उनले अष्ट्रेलियाविरुद्ध राम्रो प्रदर्शन गर्ने आशा राखेका छन् । ‘हामीले अर्को राम्रो खेल खेल्नुपर्ने छ । हाम्रो लक्ष्य नतिजा भन्दा पनि राम्रो खेल खेल्ने हो,’ उनले भने ।

उनले नेपालको खेल्ने शैली परिवर्तन भएको र त्यसको नतिजा पनि देखिन थालेको बताए । अष्ट्रेलियाका प्रशिक्षक ग्रेहम आर्नोल्डले समेत नेपाली टिमको खेल्ने शैली परिवर्तन भएको र मिहेनती टिम भएको प्रतिक्रिया दिएका थिए ।

प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालका युवा खेलाडीहरुले डेब्यु गर्न सक्ने सम्भावना रहेको समेत बनाए । अहिले नेपाली टिममा रहेका ६ नयाँ खेलाडी मध्ये दुई खेलाडीले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । मिडफिल्डर मनिस डाँगी र डिफेण्डर गौतम श्रेष्ठले इराकविरुद्ध पहिलो रोजाइमै खेलेका थिए । मनिसले त्यसपछि छनोटका दुवै खेल खेले भने गौतमले चाइनिज ताइपेईविरुद्ध मात्र खेलेका थिए ।

यस बाहेक नयाँ खेलाडीहरुमा मिडफिल्डरहरु आयुष घलान, सुरज ज्यु ठकुरी र कमल थापाले डेब्यु गर्न बाँकी छ । यस्तै गोलकिपर विशाल सुनार पनि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । त्यसबाहेक यसअघि गत नोभेम्बरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिममा परेका गोलकिपर दिप कार्कीले पनि डेब्यु गर्न बाँकी छ ।

अलमुताइरीले आयुष, सुरज र कमलले अष्ट्रेलियाविरुद्ध पहिलो रोजाइँमा नखेल्ने तर पनि खेल्ने सम्भावना रहेको बताएका थिए । यदी सबै कुरा ठिक भए उनीहरुले खेल्नेछन् । ‘मलाई थाहा छ अष्ट्रेलियाविरुद्ध खेल्न गाह्रो हुनेछ तर उनीहरुले आफ्नो स्तर बढाउन खेल्न आवश्क छ।’

अष्ट्रेलिया समूहमा लगातार ६ खेल जित्दै शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा छ । नेपालविरुद्ध जितेल अष्ट्रेलियाले विश्वकपको छनोटको तेस्रो चरणमा स्थान बनाउनेछ भने एसिया कपमा सिधै छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस