सुदूरपश्चिम प्रदेशले सोध्यो माधव पक्षका १७ सांसदलाई स्पष्टीकरण

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, १५ : ५२
सुदूरपश्चिम प्रदेशले सोध्यो माधव पक्षका १७ सांसदलाई स्पष्टीकरण

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए । रावलले १० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।

उनले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहितका १७ जना प्रदेशसभा सदस्यलाई नै स्पष्टीकरण सोधिएको जनाउँदै चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताए । संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशन विपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो रु भनेर सोधिएको छ । एमाले अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो । तीन मन्त्रीले राजीनामा दिए लगतै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा सहभागी छ ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठकले पार्टी निर्देशन विपरीत पक्षमा मत दिने निर्णय गरेको थियो । बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहे पनि बहुमत पक्षले दिएको थिएन ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गरेको भन्दै मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने ओली समूहका ७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेका थिए । उनीहरुले बुधबार शाहलाई स्पष्टीकरण बुझाएका छन् । संसदीय दलले अहिले स्पष्टीकरण अध्ययन गर्ने काम भइरहेकाले त्यसपछि मात्र आवश्यक कदम चाल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस