बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्धारा ओहोदाको प्रमाणपत्र पेश, महारानीद्धारा नेपालको कोरोना र खोपबारे चासो व्यक्त

सफल खबर संवाददाता

विहीबार, २७ जेठ २०७८, ०९ : २८
बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्धारा ओहोदाको प्रमाणपत्र पेश, महारानीद्धारा नेपालको कोरोना र खोपबारे चासो व्यक्त

लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गर्नुभएको दूतावासले उल्लेख गरेको छ ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । साथै उनले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताएकी थिईन् । महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गरेको राजदूत रेग्मीले बताए ।
राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पु¥याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए । रेग्मी बेलायतका लागि २१औँ राजदुतका रूपमा हालै नियुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस