बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि

शनिबार, २४ चैत्र २०७४, १३ : २०
बिडिसिए कप क्रिकेट प्रतियोगिता आइतबारदेखि

बैतडी । बैतडीमा आइतबारदेखि बिडिसिए कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौँमा सञ्चालन हुने जनाएको छ । १६ टोली सहभागी रहेको प्रतियोगिता चार समूहमा विभाजन गरिएको बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

निङ्गलाशैनी खेलमैदान देहिमाडौँमा आइतबार हुने पहिलो खेलमा निङ्गलाशैनी क्रिकेट क्लब र ग्वाल्लेक क्रिकेट क्लब भिड्दा बुड्डाबाजे खेलमैदान रातामाटामा पञ्चकोटी क्रिकेट क्लब र त्रिलोचन क्रिकेट क्लब आमनेसामने हुने भएका छन् ।
वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको कुनै खेल कारणवश अवरुद्ध भएको खण्डमा दुवै टोलीलाई समान एक÷एक अंक दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई क्रमशः रु ३० हजार र २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

बिडिसिए कप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुने विश्वास गरिएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको सो प्रतियोगिताको यो १७ औँ संस्करण हो । (रासस)

प्रतिक्रिया दिनुहोस