प्रदेश २ को बजेट अधिवेशन आजदेखि शुरु, जसपाका ठाकुर पक्षद्धारा बैठक अवरुद्ध पार्ने सम्भावना

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, ०९ : ४२
प्रदेश २ को बजेट अधिवेशन आजदेखि शुरु, जसपाका ठाकुर पक्षद्धारा बैठक अवरुद्ध पार्ने सम्भावना

जनकपुरधाम । प्रदेश नम्बर–२ प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख राजेश अहिराजले छैटौँ अधिवेशन आह्वान गरेका हुन् ।  जनकपुरधामस्थित प्रदेशसभा भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकको सुरुवातमा दलका नेताहरुले धारणा राख्ने र प्रिबजेट छलफल हुने कार्यसूची रहेको छ ।

प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को सरकार छ । पार्टी अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश संसदीय दलका नेता चयन गराएका छन् । यस्तै, आफूअनुकूल विधानसमेत बहुमत संसद्को हस्ताक्षरसहित पारित गराएका छन् ।

हिजै राति महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त पनि गरिएको छ । ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएका कारण उनीपक्षीय सांसदले प्रदेशसभा बैठक अवरुद्ध पार्ने सम्भावना देखिएको छ । प्रदेश सरकार यही जेठ २७ गते नीति तथा कार्यक्रम र अगामी असार १ मा बजेट ल्याउने तयारीमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस